• २८ माघ २०८२, बुधबार

जब्दीघाटमा निःशुल्क काठेपुल सञ्चालन

blog

काठको पुलबाट पार गर्दै ।

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), माघ २८ गते । केही महिनाअगाडिदेखि जब्दीघाटमा पैसा तिरेर काठको पुल तर्न बाध्य स्थानीय अहिले निःशुल्क पुल तर्न पाएका छन् । गुलरिया र बारबर्दिया नगरपालिका जोड्न बनाइएको काठको पुल सञ्चालनका लागि नगरपालिकाले लगानी गरेपछि सर्वसाधारण निःशुल्क आवतजावत गर्न पाएका हुन् । 

बारबर्दिया नगरपालिकाले नदीमा काठको पुल सञ्चालनका लागि रकम दिने सम्झौता गरेपछि सर्वसाधारण निःशुल्क पुल तर्न पाएका हुन् । माघ १५ गतेदेखि जेठ मसान्तसम्मका लागि नगरपालिकाले पुल सञ्चालन र मर्मतसम्भार गर्न पाँच लाख रुपियाँ दिने गरी सम्झौता गरेको छ । पहिले ठेकेदारसँग पैसा लिने गरी सम्झौता गरिएको थियो भने अहिले पुल सञ्चालन गरेबापत ठेकेदारलाई नगरपालिकाले पैसा दिने गरी सम्झौता गरिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले बताउनुभयो । सर्वसाधारणलाई आवतजावत गर्न सहज होस् भनेर पुल निःशुल्क गराइएको उहाँले बताउनुभयो । 

नदीमा पानीको सतह कम भएपछि यही मङ्सिरदेखि काठको पुल निर्माण गरिएको थियो । काठको पुल तर्नका लागि प्रतिव्यक्ति १० रुपियाँ, मानिस र साइकललाई २० रुपियाँ, मोटरसाइकलको २५ रुपियाँ, अटोरिक्साको ५० रुपियाँ, हाँस र कुखुराको पाँच रुपियाँ, खसीबाख्राको १५ रुपियाँ र कृषकको मल बिउ र कृषिजन्य उत्पादनको प्रतिक्विन्टल १० रुपियाँ ठेकेदारले शुल्क लिने गरेको थियो । नगरपालिकाले गत साउनदेखि माघ १५ गतेसम्म छ महिनाका लागि नदी तार्न करिब १८ लाख रुपियाँको ठेक्का सम्झौता गरेको थियो ।

काठको पुल तर्नका लागि शुल्क लिइएको विषयमा गोरखापत्र अनलाइनमा गत पुस २ गते समाचार प्रकाशन भएको थियो । त्यसपछि माघ १५ सम्म सम्पूर्ण तयारी पूरा गरी नगरपालिकाले काठको पुल निःशुल्क बनाएको छ । काठको पुल तर्न निःशुल्क बनाएपछि आवतजावत गर्न सहज भएको बारबर्दिया नगरपालिका–८ का यसु केसीले बताउनुभयो । 

जब्दीघाटमा निर्माण भएको पक्की पुल हस्तान्तरण नहुँदै २०७४ मा भासिएको थियो । २०७९ सालमा पुल पूर्ण रूपमा क्षति भएपछि स्थानीय नदी तर्नका लागि सास्ती बेहोरिरहेका छन् । सरकारले अघिल्लो आर्थिक वर्षदेखि बजेट विनियोजन गरे पनि जब्दीघाटमा पुल निर्माणका लागि ठेक्का भएको छैन । 

चालु आवमा ११ करोड रकम विनियोजन भए पनि बहुबर्से स्रोत सुनिश्चित नभएको हुनाले ठेक्का प्रक्रियामा लैजान नसकिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकम लाग्ने अनुमान गरिएको छ ।