• २७ माघ २०८२, मङ्गलबार

हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य : स्वास्थ्यमन्त्री शर्मा

blog

खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पतालको निरीक्षण गर्नुहुँदै मन्त्री डा. सुधा गौतम । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, माघ २७ गते ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले सरकारले हरेक नेपालीलाई उचित र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको बताउनुभएको छ ।

पश्चिम नेपालको भ्रमणका क्रममा सोमबार नेपालगन्ज पुग्नुभएकी मन्त्री डा. शर्माले नेपालगन्जस्थित भेरी अस्पताल र खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पतालको निरीक्षणपछि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सम्बोधन गर्दै सो बताउनुभयो ।

उहाँले सरकारले सबै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरण उपलब्ध गराउने योजना बनाएको जनाउँदै अति आवश्यक उपकरण र जनशक्ति आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नेगरी सुझाव लिने कार्य गरिरहेको बताउनुभयो ।

नेपालगन्जस्थित भेरी अस्पतालमा सिटि स्क्यान र ओपिडी भवन लगायत अन्य केही महत्त्वपूर्ण उपकरण र प्रविधि आवश्यक देखिएको जनाउँदै स्वास्थ्यमन्त्री डा. शर्माले सो बारेमा मन्त्रालयले गम्भीर भएर ध्यान दिने बताउनुभयो ।

उहाँले सुशिल कोइराला क्यान्सर अस्पतालमा पनि दरबन्दी लगायतका समस्याहरू रहेकोले अर्थ मन्त्रालयसँग समन्वय गरेर सो समस्या पनि समाधान गरिने बताउनुभयो ।

यसअघि भेरी अस्पतालको निरीक्षण अनुगमनपछि उहाँलाई अस्पतालका विभिन्न समस्याहरू अवगत गराइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो ।

उहाँले सो अवसरमा सिकलसेलका बिरामीका लागि रगत चढाउँदा हुने समस्या निराकरण गर्न आधुनिक प्रविधि आवश्यक भएको, प्रसुती गृहको निर्माण नहुँदा समस्या भएको, सिटी स्क्यान नहुँदा धेरै समस्या भएको, ओपिडी भवन निर्माणमा ढिलाइले पनि समस्या भएको र ल्याप्रोस्कोपिक टावर एउटा मात्र हुँदा शल्यक्रियामा समस्या भइरहेको जानकारी मन्त्रीलाई गराइएको बताउनुभयो ।

सो अवसरमा अस्पतालका चिकित्सकहरू डा. राजन पाण्डे, डा. कृतिपाल सुवेदी र डा. बद्री चापागाई लगायतले आवश्यक उपकरण र पूर्वाधारका बारेमा कुरा राख्नुभएको डा. सुवेदीले बताउनुभयो ।

यसैगरी, बाँकेको खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पतालको निरीक्षणका क्रममा मन्त्री डा. शर्मा समक्ष विभिन्न समस्याहरू राखिएको र उहाँले सबै समस्याको समाधान गर्ने आश्वासन दिनुभएको सो अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलले बताउनुभयो ।

सोही प्रकारले सोमबारनै स्वास्थ्यमन्त्री डा. शर्माले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालको पनि अनुगमन निरीक्षण गर्नुभएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।