• २७ माघ २०८२, मङ्गलबार

इजरायल जाने बढ्दै

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २७ गते । इजरायलमा युद्धको त्रास कम भएसँगै दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयर गिभर) का लागि जान तयार दुई हजार ११२ जनामध्ये माघ १५ गतेसम्म एक हजार तीन सय नेपाली युवा इजरायल प्रवेश गरेका छन् । दोस्रो चरण रोस्टरमा रहेका दुई हजार ११२ जनामध्ये त्यो सङ्ख्याका युवा इजरायल प्रवेश गरेका हुन् । 

वैदेशिक रोजगार विभागका अनुसार ती श्रमिक इजरायल प्रवेश गरेको र छनोट भएर जान बाँकी ७५० जना पनि क्रमशः करार सम्झौता हुने क्रममा छन् । यसमध्ये ८४ जनाको केही दिनपछि उडान रहेका कारण इजरायल प्रवेश गर्ने नेपाली एक हजार ३८४ जना हुने विभागले जनाएको छ । 

इजरायलमा युद्धको त्रास कम भएसँगै केयर गिभरका लागि यसअघि प्रतीक्षा सूचीमा रहेका नेपालीलाई लैजाने काम भइरहेको छ । विभागका अनुसार इजरायलले केही समयदेखि पहिलो चरणको तुलनामा दोस्रो चरणका युवाको माग बढी रहेको जनाइएको छ ।  

इजरायल र इरानबिचको तनाव कम भएपछि इजरायलले दोस्रो चरणका एक हजार ११२ जनामध्ये बाँकी रहेका नेपालीसँग करार सम्झौतासमेत सुरु गरेको विभागले जनाएको छ । 

पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको सङ्ख्या बढ्दै गएका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा चासो बढेका कारण नेपालबाट नियमित रूपमा नेपाली जान सकेका थिएनन् । इजरायलमा हाल दुई हजार ३८४ सयको हाराहारीमा जिटुजी श्रमिकसहित कार्यरत छन् । 

इजरायलका विभिन्न केयर गिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयर गिभर लैजाने तयारीसहित करार सम्झौता र स्वास्थ्य परीक्षण धमाधम हुन थालेको विभागले जनाएको छ । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल जाने श्रमिक बढ्ने भएपछि त्यहाँबाट आउने विप्रेषणसमेत वृद्धि हुने देखिएको छ । 

इजरायल सरकारले नेपाली श्रमिकको माग सङ्ख्या वार्षिक बढाएर नयाँ केयर सेन्टरमा रोजगारी दिने जनाएको छ । इजरायलले यहाँबाट गएका नेपालीलाई इजरायलका विभिन्न वृद्धा आश्रम (वेताबोद) र अस्पतालमा काम गर्ने गरी रोजगारी दिइसकेको छ । इजरायलले पछिल्लो समय केयर गिभरबाहेक कृषि क्षेत्रका लागि एक हजार नेपाली लैजाने आश्वासन दिँदै आएको छ ।