शशिधर पराजुली
विराटनगर, माघ २६ गते । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथाम र न्यूनीकरण गर्नका लागि किशोरीहरूलाई लक्षित गरी ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।
सरकारी प्राथमिकता भएपनि समुदायमा व्याप्त विभिन्न भ्रम, चेतनाको अभाव र समन्वयको कमीका कारण यो अभियानले सोचेअनुरूपको सहयोग पाउन सकेको छैन । विशेषगरी अभिभावक र कतिपय विद्यालयहरूले यस अभियानलाई गम्भीरतापूर्वक नलिँदा लक्षित किशोरीहरूलाई खोपको दायरामा ल्याउन चुनौतीपूर्ण देखिएको हो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चौथो ठूलो समस्या हो भने नेपालमा यो दोस्रो स्थानमा छ । नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा यो क्यान्सर पहिचान हुने गरेको छ भने करिब १ हजार ३१३ जनाको मृत्यु हुने गरेको छ । यो तथ्यांक अनुसार नेपालमा औसत प्रत्येक दिन ४ जना महिलाको मृत्यु यही क्यान्सरका कारण भइरहेको छ । सरकारले सन् २०३० सम्ममा यस रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्य राखेर खोप अभियान सञ्चालन गरिरहेको छ ।
यस पटक कोशी प्रदेशमा १० वर्ष उमेर पूरा भएका र विद्यालयमा कक्षा ६ मा अध्ययनरत ५० हजार ८६७ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । जसमा विद्यालयमा रहेका ४६ हजार ८९२ जना र विद्यालय बाहिर रहेका २ हजार ४५१ जना बालिका छन् । त्यस्तै, गत वर्ष खोप छुटेका कक्षा ७ देखि १० सम्मका १ हजार ५२४ जना किशोरीलाई पनि यसै अभियानमा समेटिने योजना छ । प्रदेशभर ४ हजार ८५४ खोप केन्द्रहरू तोकिएका छन् र यो अभियान माघ २१ देखि फागुन ७ गतेसम्म सञ्चालन हुँदैछ ।
अभियानलाई प्रभावकारी बनाउन आयोजना गरिएको एक कार्यक्रममा कोशी प्रदेशका खोप अधिकृत भरत भण्डारीले विकसित देशहरूमा यो खोप २० वर्ष अघिदेखि नै प्रचलनमा रहेका कारण त्यहाँ यो रोग लगभग नियन्त्रणमा आइसकेको जानकारी दिनुभयो । नेपालमा पनि गत वर्षदेखि अभियानको रूपमा यो खोप दिन थालिएको हो । “१० देखि १४ वर्षको उमेरमा यो खोप लगाउँदा यसको प्रभावकारिता उच्च रहन्छ,” भण्डारी भन्नुहुन्छ, “तर कतिपय विद्यालयहरूले यसलाई प्राथमिकतामा नराख्नु र अभिभावकहरूमा सचेतनाको कमी हुनु मुख्य चुनौती बनेको छ ।”
विशेषगरी यो खोप लगाएपछि भविष्यमा सन्तान नहुने वा बाँझोपन हुने भन्ने जस्ता भ्रामक हल्लाहरू समुदायमा फैलिएको उहाँको भनाइ छ । विज्ञहरूका अनुसार एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छ र यसले प्रजनन क्षमतामा कुनै पनि नकारात्मक असर गर्दैन । बरु, यसले पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशतभन्दा बढी जोखिमपूर्ण भाइरसहरू (एचपिभी १६ र १८) बाट बचाउँछ । खोप नलगाएका ३० देखि ४९ वर्षका महिलाहरूले भने प्रत्येक तीन वर्षमा पाठेघरको स्क्रिनिङ गराउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।
खोप अभियान सफल हुन नसक्नुमा धार्मिक र सांस्कृतिक कारणहरू पनि जोडिएका छन् । आदर्श बालिका माध्यमिक विद्यालयकी शिक्षिका इन्दिरा लिम्बूका अनुसार कतिपय समुदायमा खोपप्रतिको बुझाइ अझै पनि नकारात्मक छ । अभिभावकहरूले आफ्ना छोरीहरूलाई खोप लगाउन अनुमति नदिँदा र विद्यालय बाहिर रहेका किशोरीहरूलाई खोप केन्द्रसम्म ल्याउन नसक्दा अभियानको प्रभावकारितामा कमी आएको छ ।
यस रोगको रोकथामका लागि १० वर्षका किशोरीहरूलाई खोप दिने र वयस्क महिलाहरूमा नियमित जाँच गर्ने दुवै प्रक्रियालाई सँगसँगै लैजानु आवश्यक छ । सरकारले खोपलाई निःशुल्क र सुरक्षित भनी बारम्बार आह्वान गरिरहे पनि स्थानीय स्तरमा प्रभावकारी समन्वय हुन सकेको छैन । अघिल्लो वर्ष धेरौ विद्यालयहरुबाट सहयोग नपाएको स्वास्थ्यकर्मीहरुले बताउनुभयाे ।
अधिकृत भण्डारीले अफवाहको पछाडि नलागी आफ्ना नानीहरुलाई क्यान्सरको जोखिमबाट बचाउन अभिभावकहरुले अभियानमा सहभागी गराउनु पर्ने बताउनुभयो ।