• २६ माघ २०८२, सोमबार

चुनावी एजेण्डा संकलन गर्दै निवर्तमान सभामुख घिमिरे

blog

मतदाताको सुझाव संकलन गर्नुहुँदै निवर्तमान सभामुख घिमिरे ।

गोरखापत्र अनलाइन

झापा, माघ २६ गते । झापा क्षेत्र नं २ बाट नेकपा (एमाले) कोे तर्फबाट उम्मेदवार रहनुभएका निबर्तमान सभामुख देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाउन र यहाँको समस्याबारे मतदाताहरुसँग सुझाव संकलन थाल्नुभएको छ ।

निवर्तमान सभामुख समेत रहेका घिमिरेले यस पटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गर्ने बताउनुभएको छ । 

उम्मेदवार घिमिरेले आफ्नो चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता आफूले खोजेको बताउनुभयो । यसका लागि उहाँले क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्दै झापा क्षेत्र नं २ का मतदाताहरूसँग सुझाव आह्वानगरेका छन् ।

घिमिरेका अनुसार, आगामी कार्यकाल (२०८२–८७) का लागि बनाइने प्रतिबद्धतापत्रमा जनताका वास्तविक समस्या र आवश्यकतालाई समेट्न यो प्रविधि अपनाइएको हो। झापा क्षेत्र नं २ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सुझावलाई नै हामीले हाम्रो मार्गचित्र बनाउनेछौँ, उहाँले बताउनुभयो । 

गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएका घिमिरेलाई यस पटक अनुभवी र प्रविधिमैत्री उम्मेदवारका रूपमा प्रस्तुत गर्न थालिएको छ । मतदाता भेटघाटका क्रममा स्थानीय विकास, पूर्वाधार र शिक्षाका मुद्दाहरूमा छलफल गर्दै डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावहरूलाई पनि उच्च प्राथमिकता दिने घिमिरेले प्रतिवद्धता जनाउनुभएको छ ।