• २६ माघ २०८२, सोमबार

दोषीलाई कारबाही गर्न व्यवसायीको माग

blog

रौतहटको गरुडा–६ शिवनगरस्थित आदर्श आयल स्टोर्स । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा
रौतहट, माघ २६ गते ।
रौतहटको गरुडा नगरपालिका–६ शिवनगरस्थित आदर्श आयल स्टोर्सका सञ्चालकले सुरक्षाको प्रत्याभूति तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

गत माघ १५ गते स्थानीय केही युवाको समूहले पेट्रोल पम्पमा कार्यरत व्यक्तिमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चालक रामबाबु प्रसाद चौधरीले कानुनी राज्यमा दोषी उम्कन नदिन स्थानीय प्रशासन सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार माघ १५ गते राति करिब ९स्२० बजे स्थानीय केही युवाले पम्पमा रहेका रञ्जितकुमार चौधरी र रोहितकुमार चौधरीमाथि कुटपिट गरेका थिए । घटनापछि प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरिरहेको उहाँको आरोप छ ।

इलाका प्रहरी कार्यालयबाट करिब २० मिटरको दूरीमा रहेको उक्त पेट्रोल पम्पमा भएको आक्रमणबाट रञ्जित चौधरी र रोहितकुमार चौधरी घाइते भएका थिए । दुवै जनाको स्थानीय बेटर नेपाल अस्पतालमा उपचार गरिएको थियो । सामान्य उपचारपछि रोहितकुमार चौधरी घर फर्के पनि रञ्जितकुमार चौधरीको नाकको शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौं रिफर गरिएको सञ्चालक चौधरीले जानकारी दिनुभयो ।

घटनासम्बन्धी सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शी कर्मचारीहरू हुँदाहुँदै पनि प्रहरीले प्रभावकारी कदम नचालेको उहाँको आरोप छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकर आचार्यले घटनाको प्रकृति हेर्दा कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता हुने अवस्था नरहेको र अभद्र व्यवहारसम्बन्धी जाहेरी दिन पीडितलाई आग्रह गरिएको बताउनुभयो । उहाँले दोषीलाई कारबाही गर्न प्रहरी सक्षम रहेको उल्लेख गर्दै घटनाको प्रारम्भिक अवस्था हेर्दा पेट्रोल पम्पतर्फबाट पनि हातपात भएको देखिएको बताउनुभयो ।

न्यायका लागि मुद्दा दर्ता आवश्यक भए पनि घटनाको प्रकृति हेर्दा गम्भीर प्रकृतिको मुद्दा दर्ता गर्न उपयुक्त नहुने प्रारम्भिक निष्कर्ष रहेको प्रहरीको भनाइ छ ।