प्रेमराज सिम्खडा
कालीकोट, माघ २६ गते । कालीकोटमा राजनीतिक दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । यसपालिको प्रचार शैली फरक छ । यस पटक कालीकोटमा चुनावभन्दा अलिअघि नै प्रचार सुरु भएको छ । नेकपा (एमाले) का उम्मेदवार नगिन्द्र शाही नेसनलको चुनावी प्रचारसँगै नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बम र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाहीको प्रचार शैलीबाट एक दलले तयार पारेको जनमत अर्कोले आफ्नो पक्षमा पार्ने प्रयास गरेको देखिन्छ ।
शुभकालिका गाउँपालिकामा सुरुमा एमाले उम्मेदवार पुगेर प्रचार गरे । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले घरदैलो गरिसकेका थिए । त्यसपछि नेपाली कांग्रेसका उम्मेदवार पुगेलगत्तै एक दिन बिराएर नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले घरदैलोसँगै प्रत्येक वडामा एकता सन्देश सभा गरिरहेका छन् ।
कालीकोट जिल्लामा १० उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य गरी प्रतिस्पर्धा पाँचदलीय देखिन्छ । नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबिच एकअर्काको जनमत आफ्नो पक्षमा पार्ने गरी प्रतिस्पर्धा चलिरहेको छ ।
एमाले उम्मेदवार नेसनलले आफू कसैको जनमत बिगार्न नभई तिलागुफा नगरपालिका हुँदै शुभकालिकाबाट नरहरिनाथ जाने योजना अनुसार आएको बताउनुभयो । सुरुमा अन्य पालिकामा केन्द्रित अरू दलका उम्मेदवार आफू शुभकालिका पुगेको जानकारीपछि पिछा गर्दै आएको उहाँको दाबी छ ।
नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बमसँग प्रचारमा रहेका प्रेस युनियनका नेता पुष्पराज भट्टराईले जिल्ला पार्टीको निर्णय अनुसार अभियान शुभकालिकामा केन्द्रित भएको बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तुलाराम सिम्खडाले आफ्नो पार्टी २१ दल र मोर्चाबिचको एकताले बनेकाले पूर्वयोजना अनुसार एकता भेलामा केन्द्रित भएको बताउनुभयो ।
यो पटक कालीकोटमा नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माबाहेक अरू उम्मेदवार ५५ वर्षमुनिका छन् । अझै नेकपा (एमाले) र रास्वपाका उम्मेदवार ४० वर्षभन्दा कम उमेरका छन् ।