राजु लामिछाने
रुकुमपश्चिम, माघ २६ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिकाको दुर्गम मानिने वडा नं. १० लाई सडक सञ्जालमा जोड्न पाँच नाकाबाट सडक निर्माण गरिएको छ । रोल्पा र रुकुमपूर्वसँग जोडिएको यस वडाको पाँच नाकाबाट र वडाभित्र चार वटा सडक निर्माण गरिएको हो ।
वडाभित्रका बस्ती जोड्न चार वटा र बाहिरबाट वडा प्रवेश गर्न पाँच वटा सडकको ट्र्याक खोलिएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडाभित्र प्रवेश गर्नलाई रोल्पाको परिवर्तन गाउँपालिका–४ को हलहले र तल्लो टिलाबाट दुई सडक निर्माण गरिएको छ भने रुकुमपूर्वको भुमे गाउँपालिका–९ को माथिल्लो टिलाबाट पनि सडक जोडिएको छ । जिल्ला सदरमुकाम मुसीकोटको शीतलपोखरीबाट झुल्खेत हुँदै चुन आउने सडक र होल हुँदै कामी बुढापार्क जोड्ने सडक पनि यसअघि निर्माण भएका छन् । वडालाई चारैतिरबाट सडक सञ्जालमा जोड्न यी सडक निर्माण गरिएको हो ।
वडाभित्रका बस्ती जोड्न चार सडक खोलिएको छ । वडाध्यक्ष खड्काले हालै वडाको नमुना बस्तीदेखि भेरीखोलासम्म नयाँ सडकको ट्र्याक खोलिएको जानकारी दिनुभयो । दुई हजार सात सय मिटर लामो यो सडकले वडाको नमुना बस्तीबाट सङ्गिनीगैरा, डेलडाँडा, भेरीखोला हुँदै तल्लोचौर जोड्ने छ । पूर्वाधार विकास कार्यालय चौरजहारीको ४० लाख रुपियाँ लगानीमा चालु वर्षमा यो सडकको ट्र्याक खोलिएको हो ।
यसअघि वडामा मौराबारी– बैरामूल सडक, डाँडा साउनेपानी–चौर हुँदै टिला जोड्ने सडक र ठाँटीबोट–माथिल्लो गलम्पाटी हुँदै ठुलापोखरा सडक निर्माण भएका छन् ।
ट्र्याक खोलिएका सडकको स्तरोन्नतिका लागि पहल भइरहेको वडाध्यक्ष खड्काले जनाउनुभयो । वडाको भौतिक विकास र यातायात सहजताका लागि सडक निर्माण महत्वपूर्ण पूर्वाधार भएको उहाँले उल्लेख गर्नुभयो ।
चारैतिरबाट वडा सडक सञ्जालमा जोडिएपछि आवतजावत गर्न, दैनिक उपभोग्य र कृषि उपज ढुवानी गर्न सहज हुने स्थानीय झुपलाल खड्काले बताउनुभयो । भिरालो र विकट क्षेत्र रहेको यस वडामा फलफूल खेती र नगदे बालीको उत्पादन राम्रो रहेको छ ।
गाउँका अगुवा किसानसमेत रहेका खड्काले टोल टोलमा सडक पुगेपछि गाउँको उत्पादन बजार पठाउन सहज हुने बताउनुभयो । जिल्ला सदरमुकाम तथा अन्य स्थानमा आउजाउ गर्न सुविधा हुने उहाँले उल्लेख गर्नुभयो । स्थानीयवासीले यी सडकमा बाह्रै महिना यातायातका साधन चल्ने गरी स्तरोन्नति गर्न माग गरेका छन् ।