• २६ माघ २०८२, सोमबार

राहत रकम पाउनै मुस्किल

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), माघ २६ गते । गुल्मीमा विपतबाट बनेका घरको राहत रकम पाउनै मुस्किल हुने गरेको छ  । आगलागी र मनसुनजन्य विपतबाट भएका क्षतिका कारण घरबारविहीन भएकाले घर बनाए पनि राहत रकम नआउँदा थप पीडामा हुन थालेको बताएका छन् ।  

यहाँको कालीगण्डकी गाउँपालिक–१, हर्मिचौर सिरकोटका पदमप्रसाद पाण्डेले घर निर्माण सकेको दुई वर्ष पुग्नै लाग्दा पनि दोस्रो र तेस्रो किस्ता पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले घर बनाउनभन्दा पनि भुक्तानी पाउन झन् समस्या भएको दुःखेसो पोख्नुभयो । घर बनाएको जस्तापाताका साथै सिमेन्टलगायतका निर्माण सामग्री र ज्यामीको भुक्तानी माग्न आउँदा झन् पीडा हुने गरेको उहाँले बताउनुभयो ।

इस्मा गाउँपालिका–२, सिदुङ्खामा २०८१ वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा २६ घरगोठ जलेर नष्ट भएका थिए ।  सिदुङ्खासहित इस्मा गाउँपालिकामा ४९ घरगोठ जलेर नष्ट भएका थिए । अग्निपीडितले आवास निर्माण सम्पन्न गरे पनि इस्मा गाउँपालिकाबाट प्रदान गरिने एक लाख रुपियाँ र पहिलो किस्ताबापतको रकमबाहेक पीडितले अन्य रकम पाउन सकेका छैनन् ।