बबई समाचारदाता
बबई (बर्दिया), माघ २६ गते । जिल्ला प्रशासन कार्यालय बर्दियाले निर्वाचनलक्षित घटना न्यूनीकरण अभ्यास सुरु गरेको छ । गुलरिया नगरपालिका–४ स्थित कभर्ड हलको खेल मैदानमा निर्वाचनलक्षित हुन सक्ने घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर घटना न्यूनीकरण अभ्यास सुरु गरेको छ । उक्त घटना अभ्यासमा जिल्ला प्रशासन कार्यालय, बर्दियास्थित बज्र दल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र सीमा सुरक्षा कार्यालय बर्दियाको सहभागिता रहेको थियो ।
घटना अभ्यास कार्यक्रममा निर्वाचनका समयमा हुन सक्ने घटनालाई हेरेर त्यसको रोकथाम गर्ने उपायका बारेमा समेत जानकारी गराइयो । घटना अभ्यास कार्यक्रममा मतदान केन्द्रको सुरक्षा, मतपेटिकाको सुरक्षा, मतदान स्थलमा आउने स्थानीयको व्यवस्थापन, मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटनपटनलगायत गोप्य मतदान गर्ने तरिकाका बारेमा समेत जानकारी गराइएको थियो । बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले निर्वाचनलाई दृष्टिगत गर्दै हुन सक्ने घटनालाई कसरी रोकथाम र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा घटना अभ्यास गराइएको बताउनुभयो ।
घटना अभ्यास कार्यक्रममा मत खसाल्न आउने स्थानीय मतदाताको सुरक्षादेखि मतपेटिका र मतदान केन्द्रको सुरक्षाका विषयमा जानकारी गराइएको थियो । दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा बर्दियाको क्षेत्र नम्बर १ मा ७५ मतदान स्थल र १९९ मतदान केन्द्र रहेका छन् । त्यसै गरी क्षेत्र नं. २ मा १८८ मतदान स्थल गरी कुल ३८७ मतदान स्थल रहेका छन् । आसन्न निर्वाचनमा जिल्लामा तीन लाख २३ हजार २६६ मतदाता छन् । क्षेत्र नम्बर १ मा एक लाख ६८ हजार र २ मा एक लाख ५५ हजार २३२ मतदाता छन् ।