• २६ माघ २०८२, सोमबार

भौतिक विकासको आसमा मतदाता

आश्वासन देखाउँदै उम्मेदवार

blog

मकवानपुरगढी समाचारदाता

मकवानपुरगढी, माघ २६ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ ।  निर्वाचन नजिकिँदै गर्दा जिल्लाका उम्मेदवार आफ्नो पक्षमा माहोल ल्याउन मतदातासँग साक्षात्कार गर्न व्यस्त भएका छन् । मकवानपुरका उम्मेदवार आआफ्नो निर्वाचन क्षेत्र पुगेर मतदाताको गुनासो सुन्ने र प्रतिबद्धता जाहेर गर्ने कार्यमा व्यस्त छन् । उम्मेदवारले कस्ता एजेन्डा पस्किन्छन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा मतदाताले अनेक अड्कलबाजी गरिरहेका छन् । 

मकवानपुरमा यस पटक कुल ४४ जनाले उम्मेदवारी दिएका छन् । मकवानपुरको दुई निर्वाचन क्षेत्रमध्ये मकवानपुर–२ दुर्गम रहेको छ । यहाँ जिल्लाको कर्णाली भनेर चिनिने कैलाश गाउँपालिकादेखि अति सीमान्तकृत, विपन्न चेपाङ समुदाय बसोबास गर्ने राक्सीराङ गाउँपालिका रहेका छन् । 

कैलाश गाउँपालिका पर्यटकीय हबका रूपमा परिचित थाहा नगरपालिका, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका यहाँ पर्दछन् । त्यस्तै मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडा र प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडावासी यहाँका मतदाता हुन् ।

यहाँ भौगोलिक विकटता, विपन्नता तथा अति सीमान्तकृतको बाक्लो बस्ती रहेका छन् । यस क्षेत्रका अधिकांश भेग दुर्गम रहेकाले यहाँका जनताका समस्याका चाङमा बाँचिरहेका छन् । देशमा सङ्घीयता भित्रिएको आठ वर्ष बितिसक्दा पनि यहाँका समस्या उस्तै छन् । यहाँको मनहरी गाउँपालिका पर्सा र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले मानव वन्यजन्तुको द्वन्द्वबिच बाँचिरहेको छ । जीविकोपार्जनको मुख्य स्रोत बनाएको राक्सीराङ र कैलाश गाउँपालिकाका सयौँ युवा अहिले कारागारमा सजाय काटिरहेका छन् ।

आसन्न निर्वाचनका लागि यहाँबाट २१ जनाले उम्मेदवारी दिएका छन् । यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित एमालेका महेश बर्तौलादेखि रास्वपाबाट देशकै कान्छा उम्मेदवार प्रशान्त उप्रेती चुनावी प्रतिस्पर्धामा छन् । यहाँ मुख्यतया कांग्रेसका बुद्ध लामा, नेकपाका लवशेर विष्ट, एमालेका महेश बर्तौला र स्वतन्त्रका प्रशान्त उप्रेतीबिच प्रतिस्पर्धा हुने देखिएको छ । 

पार्टीका मकवानपुर जिल्ला सभापतिसमेत रहनुभएका कांग्रेसका लामाले जातीय मत तान्ने विश्वासका साथ कांग्रेसले उहाँलाई उम्मेदवार बनाएको छ । यहाँका पालिकामा जनजातिको बाहुल्य रहेकाले भोट लामालाई आउने विश्वास लिएको छ ।  

यसअघि पनि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भएर सांसद बन्नुभएका एमालेका बर्तौला पनि आफ्नो निर्वाचन क्षेत्रका लागि लोकप्रिय मानिनुहुन्छ । पहिलो पटक उम्मेदवार बन्नुभएको रास्वपाका उप्रेतीले आफूलाई विश्वास गर्ने गरी जनतामाझ जाने प्रयासमा रहनुभएको  छ ।  

नेकपाका उम्मेदवार विष्टले मतदाताले प्रतिनिधि सभाका सांसदले जे गर्नुपर्ने हो त्योभन्दा फरक अपेक्षा आफूसँग राखेको उहाँले बताउनुयो । यस क्षेत्रमा व्यक्तिगत समस्या र विकासनिर्माणका समस्याका चाङ रहेको उहाँले बताउनुभयो । 

“यहाँका जनसमुदायले विकास खोजेका छन् । मैले यहाँका नागरिकले पाउने सेवा सुविधामाथि आउने कानुनी बन्देजबारे संसद्मा आवाज उठाउने प्रतिबद्धता जाहेर गरेको छु । यहाँका भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुमवासीका व्यवस्थापनका लागि आवाज उठाउने प्रतिबद्धता जाहेर गरेको छु,” उहाँले भन्नुभयो । 

नागरिकले गाउँमा पक्की सडक, शिक्षा, स्वास्थ्य र खानेपानी खोजेकाले त्यहाँ सर्वप्रथम विकासको आवश्यक्ता देखिएको उहाँको भनाइ छ । एमाले उम्मेदवार महेश बर्ताैलाले समुदायले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल व्यवस्थापनसम्बन्धी अनेकन समस्या सुनाएको बताउनुभएको छ ।