निशा राई
धरान, माघ २५ गते । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा साबिक उपबिजेता चर्च ब्वाइज युनाइटेड, काठमाडौँले नेपाल पुलिस क्लब, काठमाडौँलाई १० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
आइतबार धरान–१६ स्थित रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडका रिचार्ड विल्सियनले खेलको पहिलो हाफको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउनुभयो । विल्सनको उक्त गोल नै खेलको निर्णायक गोल बन्यो ।
खेलभरि सन्तुलित प्रदर्शन गरेको चर्च ब्वाइज युनाइटेडले पुलिस क्लबलाई थप गोल गर्न नदिँदै जित सुनिश्चित गर्यो । उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइज युनाइटेडका रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । उहाँले नगद १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र लालीगुराँस एलए क्लब, पोखराबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपियाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपियाँ पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।