ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २५ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा एक हजार ७१ जना कर्मचारी परिचालन गरिने भएको छ । तीमध्ये ७२० जना सरकारी कर्मचारी र ३५१ जना स्वयंसेवक रहनेछन् ।
जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार निर्वाचन सम्पन्न गराउन सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीका साथै शिक्षकहरूलाई खटाइने भएको हो । निर्वाचनमा खटाइने कर्मचारीको विवरण सङ्कलन भइसकेको र त्यसलाई अन्तिम रूप दिने काम भइरहेको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा मतदान केन्द्रमा ६ जना सरकारी कर्मचारी र तीन जना स्वयंसेवक गरी नौ जनाको टोली परिचालन गरिनेछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर १२० जना मतदान अधिकृत र १२० जना नै सहायक मतदान अधिकृत खटाइने तयारी छ । प्रत्येक मतदान केन्द्रमा सहायक कर्मचारी र स्वयंसेवकका अतिरिक्त एक जना कार्यालय सहयोगीको पनि व्यवस्था गरिने भएको छ ।
निर्वाचन सुरक्षाका लागि मतदान स्थलको पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिनेछन् भने बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने सुरक्षा निकायले जनाएको छ ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेका छन् । स्थानीय तहअनुसार बेनी नगरपालिकामा २२,५७८, मङ्गलामा १३,४४६, मालिकामा १३,३५५, रघुगङ्गामा १४,१५८, अन्नपूर्णमा १२,०२९ र धवलागिरीमा १०,८३१ मतदाता छन् । मतदातामध्ये ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेका छन् ।
जिल्लाभर ८२ वटा मतदान स्थल र १२० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलताका आधारमा १५ वटा मतदान स्थललाई ‘अतिसंवेदनशील’, ५८ वटालाई ‘संवेदनशील’ र आठ वटालाई ‘सामान्य’ वर्गमा वर्गीकरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा रहेको सुरक्षा समितिले हालसम्म जिल्लाका ७८ भन्दा बढी मतदान स्थलको स्थलगत अनुगमन र निरीक्षण गरिसकेको छ ।