प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २५ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिइ सञ्चालन गरिएका १८ अटोरिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले जिल्लाको खलंगा, लुहाम, कपुरकोट, थारमारे र सल्लीबजार क्षेत्रमा सञ्चालन भइरहेका लाइसेन्सविनाका अटोरिक्सा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार अटोरिक्साको क्षमता तीनजना यात्रु बोक्ने भए पनि धेरैजसोले क्षमताभन्दा बढी यात्रु बोकेको पाइएकाले दुर्घटनाको जोखिम बढेको छ । यही कारण चेकिङलाई कडाइ गरिएको उहाँले बताउनुभयो ।
सुविधा उपलब्ध गराउने नाममा नियमविपरीत लाइसेन्सबिना सवारी सञ्चालन गर्दा यात्रुको सुरक्षामा गम्भीर असर पर्ने भएकाले यस्ता सवारीमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ । नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कानुनी कारबाही गरिने र नियमित अनुगमन जारी रहने पनि प्रहरीले स्पष्ट पारेको छ ।
सल्यानमा खलंगामा केही दिन पहिले अटोरिक्सा दुर्घटना हुँदा १ जनाको मुत्यु ९ जना घाइते भएका थिए ।