• २५ माघ २०८२, आइतबार

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

blog

पीसीएलको ट्रफी सार्वनजिक गरिदै ।

काठमाडौँ, माघ २५ गते । प्याब्सन काठमाडौँको आयोजनामा माघ २८ गतेदेखि तल्लो मूलपानी क्रिकेट मैदानमा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार सार्वनजिक गरिएको छ । 

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले ट्रफी सार्वजनिक गर्नुभयो । सोही अवसरमा सहभागी टिमको नाम, टिम लोगो, टिमका प्रायोजक, जर्सी र ‘एन्थम’ पनि सार्वजनिक गरिएको थियो ।

प्रतियोगितामा आयोजक काठमाडौँ प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहने छ । आयोजकको प्याब्सन काठमाडौं क्यापिटल्स, प्याब्सन सुदूरपश्चिम राइजिङ, प्याब्सन बागमती च्यालेन्जर्स, प्याब्सन गण्डकी इगल्स, प्याब्सन कर्णाली हाइल्यान्डर्स, प्याब्सन कोशी स्ट्राइकर्स, प्याब्सन लुम्बिनी मोङ्स र प्याब्सन मधेश रोयल्स दुई समूहमा विभाजन भइ लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

टिम प्रायोजकमा मधेशको ट्रिटन मावि/कलेज, बागमतीको साउथ वेस्टर्न स्टेट कलेज, कोशीको फेका, कर्णालीको विनायक सिद्ध कलेज, गण्डकीको प्याब्सन काठमाडौँ मेट्रो, सुदूरपश्चिमको तलेजु प्रकाशन, लुम्बिनीको प्याब्सन चन्द्रागिरी नगर कमिटी तथा काठमाडौं क्यापिटल्सको अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) रहेको प्रतियोगिता निर्देशक खिमबहादुर थापाले जानकारी गराउनुभयो । 

केन्द्रीय अध्यक्ष अधिकारीले पछिल्लो समय नेपालमा लोकप्रिय खेलका रुपमा स्थापित क्रिकेटको यो उमेरसमूहको प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताउदै क्रिकेटको विकास र विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले शिक्षासंगै प्याब्सनले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो । 

प्रतियोगिता संयोजक एवं प्याब्सन काठमाडौँका उपाध्यक्ष धनबहादुर पुनले सबै टिमको छनोट भइसकेको जानकारी गराउदै प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । 

प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपियाँ  पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान पाँच पाँच हजार रुपियाँबाट पुरस्कृत गरिने छ । टी–२० विधामा खेलाइने प्रतियोगिताको ‘प्लेयर अफ दि म्याच’लाई दुई हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।