• २५ माघ २०८२, आइतबार

बङ्गलादेश निर्वाचन र क्षेत्रीय शक्ति सन्तुलनको नयाँ मोड

blog

चित्र : एआई

नयाँदिल्ली, माघ २५ गते । आगामी साता हुन गइरहेको बङ्गलादेशको आम निर्वाचनले छिमेकी भारतसँगको सम्बन्धलाई पुनः परीक्षण गर्ने र चीनको प्रभावलाई थप सुदृढ बनाउने सङ्केत देखिएको छ। 

दक्षिण एसियामा बेइजिङले आफ्नो पहुँच विस्तार गरिरहेका बेला यो निर्वाचनले क्षेत्रीय शक्ति सन्तुलनलाई नयाँ आकार दिन सक्ने विश्लेषकहरूको ठहर छ।

गत अगस्ट २०२४ मा विद्यार्थी नेतृत्वको जनविद्रोहबाट पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासन अन्त्य भएपछिको यो पहिलो आम निर्वाचन हो। आगामी फागुन १ गते (फेब्रुअरी १२) का लागि तय भएको यो चुनावले बङ्गलादेशको राजनीतिक दिशा मात्र नभई भू-राजनीतिक समीकरणसमेत परिवर्तन गर्ने देखिन्छ।

भारतसँगको तिक्तता र चीनको सामीप्यता

पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतले शरण दिएको र ढाकाको प्रत्यर्पण अनुरोधलाई अस्वीकार गरेको विषयले वर्तमान अन्तरिम सरकार भारतसँग सन्तुष्ट छैन। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले पछिल्लो समय चीन र पाकिस्तानसँगको सम्बन्धलाई तीव्रता दिएको छ।

१७ करोड जनसङ्ख्या भएको मुस्लिम बहुल राष्ट्र बङ्गलादेशले हसिनाको पालामा पनि चीनसँग व्यापार र रक्षा सम्बन्ध राखेको थियो। तर, त्यस समयमा नयाँदिल्लीलाई ढाकाको प्रमुख रणनीतिक साझेदार मानिन्थ्यो। अहिले यो सन्तुलन चीनतर्फ ढल्कँदै गएको विज्ञहरूको विश्लेषण छ।

काउन्सिल अन फरेन रिलेसन्सका वरिष्ठ फेलो जोशुआ कुर्लेन्ट्जिक भन्नुहुन्छ, "बङ्गलादेशको आगामी सरकार चीनतर्फ बढी झुकेको देखिन्छ। बङ्गालको खाडी क्षेत्रमा चीनको रणनीतिक सोचको केन्द्रमा बङ्गलादेश पर्दै गएको छ र ढाकाले चीन समर्थक भूमिका खेल्नेमा बेइजिङ विश्वस्त देखिन्छ।"

रक्षा सम्झौता र कूटनीतिक सक्रियता

अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुसले आफ्नो पहिलो राजकीय भ्रमणका लागि चीनलाई रोज्नु र गत जनवरीमा भारत नजिकैको उत्तरी एयरबेसमा ड्रोन प्लान्ट स्थापनासम्बन्धी रक्षा सम्झौता हुनुलाई यसै परिवर्तनको कडीका रूपमा हेरिएको छ। ढाका विश्वविद्यालयका प्राध्यापक देलवर हुसेनका अनुसार निर्वाचनको परिणाम जे भए पनि बङ्गलादेश–चीन सम्बन्ध अझ प्रगाढ हुने निश्चित छ।

अर्कोतर्फ, नयाँदिल्ली र ढाकाबीचको सम्बन्धमा भने केही समययता चिसोपन आएको छ। भारतले बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि हिंसा भएको भन्दै चिन्ता व्यक्त गरेको छ भने ढाकाले ती आरोपहरूलाई बढाइचढाइ गरिएको दाबी गर्दै आएको छ। सन् २०२५ मा भएका साम्प्रदायिक हिंसामा ७० जना अल्पसङ्ख्यकको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सन्तुलनको प्रयास र चुनौती

सम्बन्ध सुधारका लागि केही प्रयासहरू पनि भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशङ्करको ढाका भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेतृ खालिदा जियाको निधनमा व्यक्त गर्नुभएको शोक सन्देशलाई सकारात्मक पहलका रूपमा हेरिएको छ। यद्यपि, खेलकुद राजनीति (क्रिकेट विवाद) र पाकिस्तानसँगको प्रत्यक्ष उडान सुचारु गर्ने ढाकाको निर्णयले नयाँदिल्लीलाई सशङ्कित बनाएको छ।

अन्तर्राष्ट्रिय सङ्कट समूहका प्रवीण डोन्टीका अनुसार दुवै देश सम्बन्ध बिग्रँदा हुने नोक्सानीबारे सचेत छन्। उहाँ भन्नुहुन्छ, "नयाँ सरकारले भारतसँगको सम्बन्ध पूर्ण रूपमा नबिगारी पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउने प्रयास गरिरहेको देखिन्छ।"

पूर्व कूटनीतिज्ञहरूका अनुसार चीनसँगको बढ्दो सहकार्यले अनिवार्य रूपमा भारतसँग शत्रुता निम्त्याउँछ भन्ने निष्कर्ष निकाल्नु हतारो हुनेछ। व्यापार, पूर्वाधार विकास र आपूर्ति श्रृङ्खलाका लागि बङ्गलादेशले दुवै शक्ति राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने आवश्यकता र आधार अझै जीवितै छ। (रासस/एएफपी)