काठमाडौँ, माघ २६ गते । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको विश्वकप विजेता बलियो इङ्ल्यान्डसँग खेल्दैछ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । टस हारेको नेपालले पहिले बलिङ गर्दैछ । नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो ।
इङ्ल्यान्डसँगको यस खेलसँगै टी–२० विश्वकपमा शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले डेब्यू गर्नुभएको छ । नेपाल आज इङ्ल्यान्डमाथि चमत्कारिक जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गर्ने अभियानमा छ ।
टी–२० क्रिकेटमा कुनै टोली कमजोर र बलियो नदेखिने हुँदा इङ्ल्यान्डले पनि नेपाललाई बलियो प्रतिस्पर्धीको रुपमा लिएको छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले इङ्ल्यान्डलाई हराउन सक्ने क्षमता नेपाली खेलाडीमा रहेको बताउनुभएको छ ।
क्याप्टेन्स मिटमा कप्तान रोहितले नेपालले यसअघिका खेलमा टेस्ट राष्ट्रलाई हराएको स्मरण गर्दै यस विश्वकपमा पनि हराउन सक्ने क्षमता रहेको बताउनुभएको थियो । विश्वकपका लागि राम्रो तयारी गरेर मुम्बई पुगेको नेपाली टोलीका सबै खेलाडी उत्साहित रहेको भन्दै रोहितले लक्ष्य सुपर आठमा पुग्ने बताउनुभएको छ ।
विश्वकपको समूह ‘सी’ मा छ । यस समूहमा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेको छ । भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय गरेपछि आइसिसीले वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्दैछ ।
नेपालले समूहको दोस्रो खेल माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने छ ।
नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।
इङ्ल्यान्डविरुद्ध नेपाल–११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल (कप्तान) , दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र शेर मल्ल ।