• २५ माघ २०८२, आइतबार

फागुन ३ देखि म्याग्दीमा मतदाता शिक्षा अभियान

blog

तस्बिर क्याप्सन: मतदाता शिक्षा कार्यक्रमका लागि नमुना मतपत्रको व्यवस्थापन गर्दै निर्वाचन कार्यालयका कर्मचारी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ २५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मत घटाउने उद्देश्यले जिल्लाका ४५ वटै वडामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

आगामी फागुन ३ देखि १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि बालविकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये अनुभवीलाई स्वयंसेवक नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो । अघिल्लो निर्वाचनमा खटिएर राम्रो काम गरेका स्वयंसेवकलाई पहिलो प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार पहिलो चरणमा प्रत्येक नगर तथा गाउँपालिकाले तोकेका एक–एक जना निर्वाचन सम्पर्क व्यक्तिलाई आइतबार ‘मतदाता शिक्षा अनुगमनकर्ता अभिमुखीकरण’ प्रदान गरिएको छ । अनुगमनकर्ताहरूले मतदाता शिक्षा कार्यक्रमका लागि नियुक्त भएका स्वयंसेवकलाई आ–आफ्नो पालिकामा अभिमुखीकरण गरी कार्यक्रम सञ्चालनको व्यवस्था मिलाउने निर्वाचन कार्यालयले जनाएको छ ।

स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित हुने गरी परिचालन गर्न लागिएको र मत बदर नहुने गरी उनीहरूले घरदैलोमा पुगेर मतदातालाई शिक्षा दिने निर्वाचन अधिकारी गौतमले बताउनुभयो ।

निर्वाचन शिक्षाका लागि आवश्यक पर्ने नमुना मतपत्रलगायतका सामग्री जिल्लामा आइपुगेको र तिनको व्यवस्थापनमा कर्मचारीहरू जुटिरहेको कार्यालयले जनाएको छ । यसैबिच, निर्वाचन आयोगले श्रव्यदृश्य र विभिन्न सन्देशमूलक सामग्री तयार गरी आयोग तथा जिल्ला निर्वाचन कार्यालयको फेसबुक, युट्युब, एक्स (ट्विटर) र भाइबरमार्फत नियमित रूपमा प्रकाशन तथा प्रसारणको व्यवस्था समेत मिलाएको छ ।