• २५ माघ २०८२, आइतबार

जब्दीघाटमा निःशुल्क काठको पुल सञ्चालन

blog

काठको पुलबाट अटो तार्दै ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) माघ २५ गते । केही महिना अघिदेखि जब्दीघाटमा पैसा तिरेर काठको पुल तर्न बाध्य स्थानीयले अहिले निःशुल्क पुल तर्न पाएका छन् । गुलरिया र बारबर्दिया नगरपालिका जोड्न बनाइएको काठको पुल सञ्चालनका लागि नगरपालिकाले लगानी गरेपछि सर्वसाधारणहरू निःशुल्क आवतजावत गर्न पाएका छन् । 

बारबर्दिया नगरपालिकाले नदीमा काठको पुल सञ्चालनका लागि रकम दिने सम्झौता गरेपछि सर्वसाधारण निःशुल्क पुल तर्न पाएका हुन् । माघ १५ गतेदेखि जेठ मसान्तसम्मको लागि नगरपालिकाले पुल सञ्चालन र मर्मत सम्हारका लागि ५ लाख दिने गरि सम्झौता गरेको छ । पहिले ठेकेदारसँग पैसा लिने गरि सम्झौता गरिएको थियो अहिले पुल सञ्चालन गरेवापत ठेकेदारलाई नगरपालिकाले पैसा दिने गरि सम्झौता गरिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले बताउनुभयो । सर्वसाधारणलाई आवतजावत गर्न सहज होस भनेर पुल निःशुल्क गराइएको उहाँले बताउनुभयो । 

नदीको सतह कम भएपछि गत मंसिर देखि काठको पुल निर्माण गरिएको थियो । काठको पुल तर्नका लागि मानिसलाई १० रुपियाँ, मानिस र साइकललाई २० रुपियाँ मोटरसाइकल र मानिसको २५ रुपियाँ, अटो रिक्साको ५० रुपियाँ, हाँस र कुखुराको पाँच रुपियाँ, खसी बाख्राको १५ रुपियाँ र कृषकको मल बीउ र कृषजन्य उत्पादनको प्रतिक्विन्टल १० रुपियाँ ठेकेदारले शुल्क लिने गरेको थियो । नगरपालिकाले गत साउन महिना देखि माघ १५ गते सम्म ६ महिनाको लागि नदी तार्न करिब १८ लाखको लिने गरी ठेक्का सम्झौता गरेको थियो ।

काठको पुल तर्नको लागि शुल्क लिईएको विषयमा गोरखापत्र अनलाइनमा गत पुष २ गते समाचार प्रकाशन भएको थियो । त्यसपछि माघ १५ सम्म सम्पूर्ण तयारी पुरा गरि नगरपालिकाले काठको पुल निःशुल्क बनाएको छ । काठको पुल तर्नको निःशुल्क बनाएपछि आवत जावत गर्न सहज भएको बारबर्दिया नगरपालिका वडा नं ८ का यसु केसीले बताउनुभयो । 

जब्दीघाटमा निर्माण भएको पक्कीपुल हस्तान्तरण नहुँदै २०७४मा भासिएको थियो । २०७९ सालमा पुल पूर्णरुपमा क्षती भएपछि स्थानीहरू नदी तर्नका लागि सास्ती बेहोरीरहेका छन् । सरकारले अघिल्लो आर्थिक वर्ष देखि बजेट विनियोजन गरेपनि जब्दीघाटमा पुल निर्माणका लागि ठेक्का भएको छैन । 

चालु आर्थिक वर्षमा ११ करोड रकम विनियोजन भएपनि बहुबर्षे स्रोत सुनिश्चितता नभएको हुनाले ठेक्का प्रक्रियामा लैजान नसकिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताउनु भयो । पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकम लाग्ने अनुमान गरिएको छ ।