• २५ माघ २०८२, आइतबार

१८ वटा अति संवेदनशील मतदानस्थलको अनुगमन

blog

हिमज्योती मावि मतदानस्थ सर्केगार्डको अनुगमन कार्य गरेपछि अनुमगन टोलीका सदस्यहरु । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, माघ २५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कायम भएका अतिसंवेदनशील मतदानस्थलहरुको जिल्ला स्तरीय अनुगमन समितिद्वारा अनुगमन गर्ने कार्य भएको छ । जिल्लाका दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका ती मतदानस्थलहरुको स्थलगत रुपमा अनुगमन गरिएको हो ।

मुख्यनिर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगार्ड गाउँपालिकाका अठार वटा अति संवेदनशील मतदानस्थलको अनुगमन गर्ने कार्य तीन दिन लगाएर सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताउनुभयो । 

जसमा ताँजााकोटका छ वटा, अदानचलीका चार, चङ्खेलीका चार र सर्केगार्ड गाउँपालिकाका चार वटा मतदानस्थलहरुको अनुगमन गर्ने कार्य भएको हो । अनुगमन कार्य गरि सकेपछि मतदानस्थलको अबस्था सन्ताोसजनक रहेको बताउदै ती मतदानस्थल मतदान गर्नका लागि योग्य रहेको ठहर अनुगमन टोलीले गरेको उहाँले बताउनुभयो । 

अनुगमनका क्रममा मतदान केन्द्रहरूको भौतिक अवस्था, सुरक्षा व्यवस्था, मतदाताको सहज पहुँच, निर्वाचन सामग्रीको सुरक्षित भण्डारण, मतपेटिका व्यवस्थापन लगायत संवेदनशील पक्षहरूको सूक्ष्म र गम्भीर मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो । 

मतदानस्थलको अवस्था हेरेर मुख्य निर्वाचन अधिकृतदेखि प्रमुख जिल्ला अधिकारी सन्तुष्ट रहेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचनसम्बन्धी निकायहरूबीच आवश्यक समन्वय, निर्देशन र सुझाव प्रदान गरिएको थियो । 

अनुगमन टोलीमा मुख्य निर्वाचन अधिकृत बराल सहित प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, शत्रुभञ्जन गुल्मका गुल्मपति  हरिबाबु श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्हरी नायव उपरिक्षक शंकर खड्का, अनुसन्धान कार्यालयका प्रमुख मेघराज कडेल, सशस्त्र प्रहरी बलका निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर साउद, कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका कोष नियन्त्रक अंगबहादुर कार्की र जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख रोकाया लगायतको सहभागिता रहेको थियो । 

यसरी जिल्लाबाट प्रमुख निर्वाचन अधिकृत सहितको जिल्लाको उच्चस्तरीय टोली मतदान स्थलको अनुगमन गर्न पहिलो पटक दक्षिणी क्षेत्रका गाउँँ पालिकामा पुगेको हो ।

यसअघि टोरीले सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका दुई वटा मतदानस्थलको अनुगमन गरि सकेको थियो भने अब खार्पुनाथ र नाम्खा गाउँँपालिका अतिसम्वेदनशिल मतदानस्थलको पनि अनुगमन गर्ने कार्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।