• २५ माघ २०८२, आइतबार

‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ शुभारम्भ

blog

गृहमन्त्री अर्याल “नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२” को उद्घाटन गर्नुहुँदै । तस्बिर नेपाल प्रहरी

काठमाडौँ, माघ २५ गते । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार आयोजित विशेष समारोहबिच ‘प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौती र भावी कार्यदिशा’ विषयक दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२” शुभारम्भ भएको छ। गृहमन्त्री अर्यालले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्नुभएको हो।

समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा शोध अनुसन्धान गरी प्रकाशित ‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र साइबर अपराधबिच अन्तरसम्बन्ध सम्बन्धी अध्ययन’, ‘नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन सम्बन्धी अध्ययन’ तथा ‘ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण एवं व्यवहार सम्बन्धी अध्ययन’ गरी तीन अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो।


समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयामबारे नागरिक समाजका प्रतिनिधि, सुरक्षा विज्ञ तथा विभिन्न क्षेत्रका सरोकारवालासँग रणनीतिक अन्तर्क्रिया गर्नु सकारात्मक पहल भएको बताउनुभयो। प्रहरी सेवाका नीति निर्माण प्रक्रिया तथा जनअपेक्षा अनुसारको सेवा स्वरूप निर्धारणमा नागरिक तहको सार्थक सहभागिता भएमा मात्र त्यस्ता योजना व्यवहारिक रूपमा कार्यान्वयन हुन सक्ने उहाँले उल्लेख गर्नुभयो।

उहाँले सम्मेलनमा हुने अन्तर्क्रिया र बहसबाट प्रहरी सङ्गठनलाई जनअपेक्षा अनुसार बनाउने तथा सेवा प्रवाह सुधारका लागि मूल्यवान सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। सङ्गठनात्मक क्षमता सुदृढीकरण, अपराधका नयाँ चुनौतीको सम्बोधन तथा प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र विश्वासिलो बनाउन सम्मेलन उपयोगी हुने उहाँले बताउनुभयो। सम्मेलनका निष्कर्ष र त्यसपछिका रणनीति तथा योजनाको कार्यान्वयनमा गृहमन्त्रालय र नेपाल सरकारको उच्च समर्थन रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका चुनौती समाधान गर्न सम्मेलन महत्त्वपूर्ण हुने उल्लेख गर्दै साइबर तथा आर्थिक अपराध जटिल बन्दै गइरहेको अवस्थामा यस्ता अपराध नियन्त्रणमा नेपाल प्रहरीको भूमिका अझ महत्त्वपूर्ण हुने बताउनुभयो। आधुनिक प्रविधिको प्रयोग गरी प्रहरी कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।


प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संविधान, प्रहरी ऐन तथा प्रचलित कानुन अनुसार शान्ति–सुरक्षा कायम राख्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको बताउनुभयो। संघीय शासन प्रणाली कार्यान्वयनसँगै प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहुआयामिक बन्दै गएको उल्लेख गर्दै सङ्गठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वय सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।

सम्मेलन संयोजन तथा व्यवस्थापन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्यसहित सम्मेलनबारे जानकारी दिनुभएको थियो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, विभिन्न क्षेत्रका विज्ञ, बैँक तथा सञ्चार क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।


नेपाल प्रहरीको कार्यसम्पादन समीक्षा, रणनीति निर्धारण प्रक्रियामा नागरिक तथा बौद्धिक सहभागिता अभिवृद्धि, सुरक्षा चुनौतीहरूको समग्र मूल्याङ्कन, दीर्घकालीन दृष्टि र कार्ययोजना निर्माणका लागि सुझाव सङ्कलन तथा सेवा प्रवाह सुधारका उपाय पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

दुईदिने सम्मेलनमा प्रहरी सञ्चालन, समन्वय र सुधारका उपाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती, अपराधका नयाँ प्रवृत्ति, विरोध प्रदर्शन व्यवस्थापन, प्रहरी–नागरिक सम्बन्ध सुधार, मानवस्रोत व्यवस्थापन, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग, विपद् व्यवस्थापन तथा सडक सुरक्षा प्रवर्धन लगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ।