केशवराज भट्ट
वाशुलिङ-बैतडी, माघ २५ गते । बैतडीको दोगडाकेदार गाउँपालिका-३, श्रीकोटको घोणेधार भन्ने स्थानमा इभी हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा इभी हाइसका चालक दोगडाकेदार गाउँपालिका–५, न्वाली निवासी २५ वर्षीय मदन ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक बल्देब बडूले जानकारी दिनुभयो ।
शनिबार राति करिब ९ बजेर ४५ मिनेटमा सिल्लेगडाबाट बडिँयातर्फ जाँदै गरेको सुप प्र. ०३००१ ज. ०६२४ नम्बरको इभी हाइस घोणेधारमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका चालक ठगुन्नालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इभी हाइस सडकबाट करिब २५० मिटर तल खोलामा खसेको थियो । सो समयमा हाइसमा चालक मात्र सवार रहेका थिए । यसअघि बिहीबार बैतडीको पुर्चाैडी नगरपालिका–७ मा जन्ती लिएर फर्किने क्रममा भएको बस दुर्घटनामा बैतडी र बझाङका गरी १३ जनाको मृत्यु भएको थियो ।