• २५ माघ २०८२, आइतबार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ २५ गते ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर १० जमुवा स्थित कठौना–पातो सडक खण्डमा शनिबार साँझ भएको दुर्घटनामा सोही ठाउँका ६८ वर्षीय रामबाबु मण्डलको मृत्यु भएको हो ।

कठौनाबाट राजपुरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प. ५०४५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मण्डल गम्भीर घाइते हुनुभएको थियो ।

घाइते उहाँलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

सोही दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ११ बस्ने २२ वर्षीय राम अवतार मण्डलको र पछाडि सवार सोही ठाउँका १६ वर्षीय विशालकुमार मण्डल घाइते हुनुभएको छ र दुवैजनाको उपचार भइरहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा रहेको र  मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय सुरज मण्डललाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।