अर्जुन काफ्ले
स्याङ्जा, माघ २५ गते । स्याङ्जामा एक हजार ७९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी फागुन ४ र ५ गते दुई दिन चल्ने अभियान मार्फत किशोरीलाई खोप लगाइने छ ।
जिल्लाका ९७ वडामा रहेका २३४ विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने तयारी गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो ।
यससँगै अघिल्लो वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि समेटिने छ ।
अभियानलाई प्रभावकारी बनाउन २३४ स्वास्थ्यकर्मी र त्यत्तिकै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने छ । महिलाको शारीरिक तथा प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस अभियान सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको नेपलीले बताउनुभयो ।
पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगविरुद्ध सचेत रहँदै कोही पनि खोपबाट वञ्चित नहुन नेपालीले आग्रह गर्नुभयो । अभियानअघि नै प्रचारप्रसारलाई तीव्र बनाइएको बताउँदै जिल्ला खोप समन्वय समितिका संयोजक मनिषकुमार महतोले खोप सुरक्षित भएकाले भ्रामक सूचनामा नपर्न सबैलाई आग्रह गर्नुभयो ।
यस वर्ष सबै भन्दा धेरै वालिङमा ४०४, पुतलीबजारमा २९५, गल्याङमा २०१, भीरकोटमा १६९, चापाकोटमा १६२, कालीगण्डकीमा ११०, अर्जुनचौपारीमा १०९, फेदीखोलामा १०३, आँधीखोलामा ८६, हरिनासमा ८० र सबैभन्दा थोरै बिरुवामा ७२ किशोरीलाई खोप लगाइने छ । यहाँ एक जना मात्र अर्जुनचौपारीमा एक जना विद्यालय नजाने किशोरी रहेको कार्यालयले जनाएको छ ।गत वर्ष मात्रै स्याङ्जामा नौ हजार ५०५ जनालाई एचपिभी खोप लगाइएको थियो ।