राजकुमार भट्टराई
खोटाङ, माघ २५ गते । खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुना गरी करिब डेढ सय जना बिरामी परेका हुन् ।
माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । उनीहरुमा ज्वरो आउने, पेट दुख्ने, उल्टी हुने, झाडापखाला लाग्ने समस्या देखिएको जन्तेढुङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले बताउनुभयो । भोज खाएपछि उनीहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको उहाँको भनाइ छ ।
सुरुमा केही व्यक्तिहरू बिरामी भएको खबर आएपछि स्वास्थ्यकर्मीले घरघरमा गएर उपचार गरेका थिए । तर पछि गाउँका प्रत्येक घरमा मानिसहरू बिरामी भएपछि दिप्लुङकै निगालावास भन्ज्याङ दुई घरमा सबैलाई ल्याएर उपचार गराइएको कार्कीले बताउनुभयो ।
एम्बुलेन्समार्फत बिरामी ल्याउने र सुधार भएपछि घरमै पुर्याउने काम धमाधम भइरहेको छ । हालसम्म करिब ८० जना बिरामीहरू ठीक भइसकेको उहाँको भनाइ छ । अन्य बिरामीलाई स्वास्थ्यकर्मीहरूले उपचार गरिरहेका छन् । केही व्यक्ति भने सिकिस्त रहेका छन् ।
स्लाइनपानी, जीवनजल लगायतका औषधी गाउँपालिकाले व्यवस्थापन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट पनि केही मात्रमा औषधीहरू लगिएको छ । ‘फुडपोइजन’का कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ सङ्कलन गर्न चिकित्सकको टोली आउँदै गरेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताउनुभयो ।
बिहे भोज खाएर गएका टाढा टाढाका पाहुनाहरू पनि बिरामी भएको खबर आएको छ । नजिकै रहेका पाहुनालाई सोही ठाउँमा ल्याएर उपचार गराइएको छ । आइतबार बिहान पनि नजिकै रहेका गाउँका पाहुना बिरामी भएको खबर आएपछि बिरामी ल्याउन एम्बुलेन्स पठाइएको कार्कीले बताउनुभयो ।