चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २५ गते । ताप्लेजुङमा जारी जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिकाले अग्रता लिएको छ । शनिबारसम्ममा विभिन्न विधामा १७ वटा स्वर्ण पदक जित्दै प्रतियोगितामा मैवाखोलाले अग्रता बनाएको हो ।
जिल्लाका नौ स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा अग्रता लिएको मैवाखोलाले शनिबारसम्ममा विभिन्न खेल विधामा १७ स्वर्ण, पाँच रजत र सात कास्य गरी २९ वटा पदक जितिसकेको छ । हालसम्म फुङ्लिङ नगरपालिका चार स्वर्ण, छ रजत र ११ वटा कास्यसहित २१ पदकमा जित निकाल्दै दोस्रो स्थानमा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो ।
अध्यक्ष लिम्बूका अनुसार तेस्रो स्थानमा सिदिङ्वा गाउँपालिका रहेको छ । हालसम्म सिदिङ्वाले चार स्वर्ण, छ रजत र १० कास्य गरी २० वटा पदक जितेको उहाँले जानकारी दिनुभयो । तीनवटा मात्र स्वर्ण पदक जितेको आठराई त्रिवेणी गाउँपालिकाले रजत र कास्य भने सबैभन्दा बढी जितेको छ । हालसम्म आठराई त्रिवेणीले नौ रजत र १३ कास्य पदक जितेको छ ।
यसैगरी, सिरिजङ्घा गाउँपालिकाले हालसम्म दुई स्वर्ण, एक कास्य पदक, मिक्वाखोला गाउँपालिकाले एक स्वर्ण, तीन रजत र छ कास्य पदक जितेको छ । मेरिङ्देन गाउँपालिकाले पनि एक स्वर्ण, तीन रजत र तीन कास्य पदकमा जित निकालेको छ ।
त्यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकाले हालसम्म एकमात्र कास्य पदक जितेको छ भने फक्ताङ्लुङ गाउँपालिका पदकविहीन रहेको छ । आयोजकका अनुसार फक्ताङ्लुङले हालसम्म कुनै पनि पदक जित्न सकेको छैन । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजना र सिदिङ्वा गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।
सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्रस्थित साब्लाखुमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न हुने छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो लगायतका विधाअन्तर्गत ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २०२ पदकका लागि छात्र–छात्राले प्रतिस्पर्धा गरिरहेका जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।