चितवन समाचारदाता
चितवन, माघ २५ गते । चितवनको निर्वाचन क्षेत्र नम्बर २ लाई यस पटक पनि सबैले चासोपूर्वक हेरिएको छ । अघिल्लो दुई वटा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएको क्षेत्र हो । यस पटक पनि उहाँ त्यहीँबाट उम्मेदवारी दिनुभएको छ तर विगतमा भन्दा फरक अवस्था रहेको राजनीतिक दलका नेताहरूको विश्लेषण छ ।
पहिलो पटक निर्वाचन जितेर नागरिकताका विषयमा विवाद भएपछि बर्खास्तीमा पर्नुभएका रास्वपा सभापति लामिछाने पुनः अर्को पटक त्यहीँबाट विजयी हुनुभएको थियो । लामिछानेसँग प्रतिस्पर्धा गर्नका लागि नेपाली कांग्रेसले सामाजिक व्यक्ति मीनाकुमारी खरेललाई अगाडि सारेको छ । महिला तथा बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको उहाँले लामिछानेसँग प्रतिस्पर्धा गरेर जित हासिल गर्ने दाबी गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा यसै क्षेत्रका विगतका उम्मेदवार जितनारायण श्रेष्ठले भन्नुभयो, “विगतको जस्तो अवस्था अहिले छैन । जितेर पनि उहाँले यस क्षेत्रमा केही योगदान गर्न सक्नुभएको छैन । मुद्दै मुद्दाले गर्दा उहाँ यस क्षेत्रमा आउनसमेत नसकेको अवस्थामा निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने विश्वास लिएको छु ।” यसै क्षेत्रबाट अघिल्लो पटक उहाँ उम्मेदवार हुँदा ११ हजार २१४ मत ल्याउनुभएको थियो । श्रेष्ठले भन्नुभयो, “पार्टीमा कुनै समस्या छैन, जनता सबै सचेत भइसक्नुभएको छ । हामीले उठाएको उम्मेदवार सबैले मन पराउने हुनुहुन्छ, त्यसैले परिणाम हाम्रो पक्षमा आउनेमा हामी ढुक्क छौँ ।”
रास्वपाका सभापति लामिछानेले “यस पटकको निर्वाचनको परिणामले देशको विकासमा नयाँ फड्को मार्ने भएकाले जनताले परिवर्तनकारी पार्टीलाई विश्वास गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । सुशासन, विधिको शासन, गरिबको अवस्था सुधार, रोजगारीको सुनिश्चितता जनताले खोजेका छन् । जनताको विश्वास आफूसँग रहेको बताउँदै उहाँले यस पटक आफूले जित्नेमा कुनै समस्या नभएको बताउनुभयो । निर्वाचन क्षेत्र नं. २ मा मात्र नभएर देशैभरि जनताले रास्वपालाई जिताउने उहाँको भनाइ छ । नेकपा (एमाले) का तर्फबाट ४० वर्षमुनिका प्रदेश कमिटी सदस्य अस्मिन घिमिरेलाई उम्मेदवार बनाएको छ । साङ्गीतिक क्षेत्रका घिमिरेलाई जनताले मन पराउनेमा एमाले पार्टीले विश्वास लिएको छ । नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमलराज पाठकले भन्नुभयो, “सबैले युवा उम्मेदवारको माग राखेकाले हामीले युवा नै ल्याएका छौँ । सांस्कृतिक क्षेत्रका उदीयमान युवा भएकाले यस पटक सबैले मन पराउनुभएको छ ।” उहाँका अनुसार निर्वाचन क्षेत्र नं. २ मा एमालेको भन्दा कम उमेरको उम्मेदवार अन्य दलले उठाएका छैनन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ इच्छाकामना गाउँपालिका निवासी हुनुहुन्छ । पहाडी क्षेत्रमा यस पटक पार्टीको लहर राम्रो चलेकाले आममानिसले सोचेभन्दा फरक परिणाम आउने उम्मेदवार गुरुङ बताउनहुन्छ । उहाँले भन्नुभयो, “हामीले यस क्षेत्रमा धेरै विकास निर्माणका लागि योगदान दिएका छौँ । जनताको सुखदुःखमा साथ दिएका छौँ त्यसैले परिणामबाहिरका मानिसको पक्षमा हुँदैन ।”