मायामी (अमेरिका), माघ २५ गते । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पूरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सातवटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिजबुकमा नाम लेखाएका हुन्।
शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’ को समापन समारोहमा गिनिजबुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । अन्टार्टिकाबाट सुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।
अत्यन्त चुनौतीपूर्ण मानिने ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुँदैआएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथनमा जोशीसहित ३२ देशका ५६ धावक सहभागी थिए।
जोशीले आफू जन्मेको माटो र सम्प्रदाप्रतिको सम्मानका लागि दौरा सुरुवालमा म्याराथनमा सहभागी हुनुभएको थियो । दौरा सुरुवाल काठमाडौंको विश्व गौतमले तयार गर्नुभएको थियो ।