• २५ माघ २०८२, आइतबार

निर्वाचनमा सञ्चार माध्यम

निष्पक्ष कलम चलाउने प्रतिबद्धता

blog

पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमका सहभागी ।

ठाकुरप्रसाद आचार्य 

बेनी, माघ २५ गते । आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न गण्डकी प्रदेशका पत्रकारले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र निष्पक्ष रूपमा कलम चलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शनिबार म्याग्दीको बेनी नगरपालिका तोरीपानीस्थित तोरीपानी सामुदायिक होमस्टेमा आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा पत्रकारले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चार जगत्को भूमिका महत्वपूर्ण हुने बताएका हुन् । कार्यक्रममा जिल्ला अदालत म्याग्दीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले पत्रकार आचारसंहिताको पालना गर्दै निर्वाचनलाई सफल बनाउने महत्वपूर्ण भूमिका सञ्चार जगत्को भएको बताउनुभयो । उहाँले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पालनाबारे जिम्मेवार बनाउने दायित्व पनि पत्रकारको भएको बताउनुभयो । पत्रकारको सचेत खबरदारीले नै निर्वाचन आचारसंहिताको पालना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले निर्वाचनलाई सफल पार्न पत्रकार र सञ्चार जगत्को भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले निर्वाचनका समयमा पत्रकारले आचारसंहितालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने जोड दिनुभयो । उहाँले निर्वाचनका समयमा सामाजिक सञ्जालमा आएका विषयलाई पुष्टि गरेर मात्र समाचार बनाउनुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले निर्वाचनका समयमा पत्रकारले सजगताका साथ कलम चलाउनुपर्ने बताउनुभयो । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता ख्याल गर्दै निर्वाचनलाई सफल बनाउने र नागरिकलाई सुसूचित बनाउने दायित्व पत्रकारको भएको बताउँदै उहाँले निर्वाचनका समयमा राजनीतिक दलको प्रभावदेखि टाढै रहन पत्रकारलाई अनुरोध गर्नुभयो । 

यसै गरी शनिबार नै तोरीपानीमा सम्पन्न भएको नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको छैटौँ बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्नेसहितका नौ बुँदे तोरीपानी घोषणापत्र जारी गरेको छ । 

यसै गरी हाम्रा वालिङ समाचारदाताका अनुसार स्याङ्जामा क्रियाशील पत्रकारले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जिल्ला सदरमुकाममा गरेको पत्रकारका लागि निर्वाचन आचारसंहितासम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा पत्रकारले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । छलफलमा बोल्दै पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष रूपमा सफल बनाउन पत्रकारले पूर्ण सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा मूख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले भरपर्दो र सही सूचना प्रवाहको अपेक्षा आफूले गरेको बताउनुभयो । पत्रकारले दिने सूचनालाई धेरै नागरिकले विश्वास गर्ने भन्दै गौतमले सबैको सहकार्यमा मात्रै निर्वाचन सभ्य र भव्य रूपमा सम्पन्न हुने हुने स्पष्ट पार्नुभयो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । पत्रकार र प्रशासनको सहकार्यमा निर्वाचन सहज हुने उहाँको भनाइ थियो ।