सर्लाही समाचारदाता
सर्लाही, माघ २५ गते । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नं. १ बाट २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रमा तीन जना पूर्वप्रतिनिधि सभा सदस्यसहित २८ जनाको उम्मेदवारी परेको हो । सर्लाही–१ मा मुख्य गरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेकपा (एमाले) बाट मनोजकुमार देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमोद साह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नीतिमा भण्डारी कार्की उम्मेदवार रहनुभएको छ । उहाँहरूसहित अन्य उम्मेदवार अहिले वडास्तरमा अगुवा कार्यकर्तासँग भेट गर्ने, सम्पर्क कार्यालय खोल्ने, निर्वाचन परिचालन समिति गठन गर्नेसहितका गतिविधिमा व्यस्त हुनुहुन्छ ।
सर्लाही–१ मा उम्मेदवारी दिएकामध्ये शम्भुलाल श्रेष्ठ, प्रमोद साह र रामप्रकाश चौधरी यस क्षेत्रको पूर्वप्रतिनिधि सभा सदस्य हुनुहुन्छ । २०७९ को निर्वाचनमा गठबन्धनका तर्फबाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरी २४ हजार ८३८ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
त्यसबेला स्वतन्त्र उम्मेदवार मानबहादुर
खड्काले १८ हजार ४०४ र एमालेसँगको गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गर्नुभएको थियो । निवर्तमान प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीलाई केन्द्रमा भएको गठबन्धन अनुसार नेपाली कांग्रेस र माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा समाजवादीको समर्थन थियो ।
यस पटक कांग्रेसले आफ्नै उम्मेदवार खडा गरेको छ भने तत्कालीन समाजवादी पार्टी अहिले माओवादी केन्द्रसँग एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ । अहिले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रमोद साह २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को उम्मेदवार भई २२ हजार ३६ मत ल्याएर विजयी हुनुभएको थियो ।
त्यसबेला नेकपा (एमाले) का उम्मेदवार (स्वर्गीय) ध्रुवप्रसाद गौतमले २१ हजार ४६५ र नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २० हजार ७५ मत प्राप्त गर्नुभएको थियो । प्रत्येक पटकको निर्वाचनमा नयाँ प्रतिनिधि सभा सदस्य चयन गर्दै आइरहेको सर्लाही–१ मा यस पटकको चुनावी प्रतिस्पर्धा रोचक हुने मतदाता बताउँछन् ।
सर्लाही–१ मा एक लाख ३० हजार ८७१ मतदाता रहेका छन् । चुरे भेगको सिन्धुलीसँगको सीमादेखि मधेशको समथर भूभागसम्म पर्ने सर्लाही–१ मा चन्द्रनगर गाउँपालिका पूरै (१–७), लालबन्दी नगरपालिका पूरै
(१–१७), ईश्वरपुर नगरपालिका–१५ बाहेक सबै (१–१४), हरिपुर नगरपालिका–१ बाहेक सबै (२–९), कविलासी नगरपालिका–१, २ र ७ पर्छ ।
चुरेको विकट बस्तीदेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी र बयलबास बजारसमेत पर्ने सर्लाही–१ का अधिकांश मतदाता कृषि पेसामा आबद्ध रहेका छन् । यस निर्वाचन क्षेत्रमा मुख्य गरी खानेपानीको अभाव र सिँचाइको समस्या रहेकाले अब आउने प्रतिनिधिले यसैमा ध्यान केन्द्रित गर्नुपर्ने पूर्वप्रधानाध्यापक ऋषिप्रसाद सुवेदी बताउनहुुन्छ ।
सर्लाही–१ मा कृषि विश्वविद्यालय स्थापना, सुनकोशी–मरिण सिँचाइ आयोजनाको पानी ल्याउने, लालबन्दी–मरिण–नेपालथोक सडक सञ्जाल निर्माणलगायतका मुद्दा केही समयदेखि उठ्दै आइरहेको छ । चुनावी सरगर्मी बढ्दै जाँदा सर्लाही–१ का मतदाता भने अहिले उखु काट्ने, दलहन तथा तेलहन बाली थन्क्याउने, हिउँदमा फुर्सदको समय भएकाले मजदुरी गर्न विभिन्न ठाउँमा पुग्ने र गहुँबालीमा मलखाद गर्ने काममा व्यस्त देखिन्छन् ।