लक्ष्मण पौडेल
भैरहवा, माघ २५ गते । राजनीतिमा टिकिरहनु मात्र चुनौती होइन, पटक पटक मतदाताको कठघरामा उभिनु झन् ठुलो परीक्षा हो । यही परीक्षामा २०४८ सालदेखि निरन्तर सहभागी हुँदै आएका दुई अनुभवी नेता पश्चिम नवलपरासीका हृदयेश त्रिपाठी र रुपन्देही–४ का सर्वेन्द्रनाथ शुक्ला यस पटक आठौँ पटक चुनावी मैदानमा उत्रिनुभएको छ । लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये यति लामो समयसम्म निरन्तर चुनावी यात्रा तय गरेका यी दुई नेता अपवादकै रूपमा देखिनुभएको छ ।
त्रिपाठीको राजनीतिक यात्रा
हृदयेश त्रिपाठीको राजनीतिक यात्रा २०४८ सालमा नेपाल सद्भावना पार्टीबाट सुरु भएको हो । सोही वर्ष प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उहाँले २०५१ र २०५६ सालमा पनि सद्भावनाबाटै जित्नुभयो र राज्य सञ्चालनका महत्वपूर्ण पदमा पुग्न सफल हुनुभयो । २०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टीबाट निर्वाचित त्रिपाठी २०७० मा पराजित हुनुभयो । २०७४ मा एमालेको सूर्य चिह्नबाट संसद् पुगेका उहाँ २०७९ मा एमाले समर्थनमा जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बने पनि कांग्रेसका विनोद चौधरीसँग पराजित हुनुभयो । हालसम्म उहाँले पाँच पटक जित र दुई पटक हार बेहोर्नुभएको छ ।
२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा वन तथा भूसंरक्षणमन्त्री बनेका त्रिपाठी विभिन्न कालखण्डमा चार पटक मन्त्री भइसक्नुभएको छ । मधेश आन्दोलन, दल विभाजन र एकीकरणका क्रममा उहाँ तमलोपा, राजपा हुँदै एमालेसँग चुनावी सहकार्यसम्म आइपुग्नुभयो । मधेश राजनीतिलाई पश्चिम तराईसम्म विस्तार गर्ने नेताका रूपमा परिचित त्रिपाठीले तत्कालीन प्रदेश २ केन्द्रित मधेश अवधारणाप्रति सधैँ असहमति जनाउँदै आउनुभएको थियो । यो पटकको उम्मेदवारीबारे गोरखापत्रसँग कुराकानी गर्दै उहाँले आफ्ना लागि यो चुनाव अन्तिम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म आगामी निर्वाचन लड्दिनँ, यो नै मेरा लागि अन्तिम चुनाव हो तर यो चुनावले पनि मुलुकले निकास पाउने अवस्था छैन ।”
जितहारको अनुभवमा शुक्ला
रुपन्देहीको क्षेत्र नं. ४ का उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला पनि लामो समयदेखि चुनावी राजनीतिमा सक्रिय हुनुहुन्छ । मर्चवार क्षेत्र भनेर चिनिने यस निर्वाचन क्षेत्रमा कुनै पनि उम्मेदवारले लगातार जित निकालेको इतिहास छैन । यही क्षेत्रमा शुक्लाले २०४८ यता सात पटक उम्मेदवारी दिँदा तीन पटक जित हात पार्नुभएको छ ।
इन्जिनियरिङ अध्ययनपछि सरकारी जागिर खाएका शुक्लाले २०३४ सालमै जागिर छाडेर राजनीतिमा होमिनुभएको हो । २०४७ मा कांग्रेस सदस्य बनेका उहाँ टिकट नपाएपछि राप्रपाबाट चुनावी राजनीतिमा प्रवेश गर्नुभयो । २०५१ मा सांसद बनेपछि विभिन्न सरकारमा मन्त्रीसमेत हुनुभयो । २०६३ सालपछि तमलोपा हुँदै राजपा र हाल लोकतान्त्रिक समाजवादी पार्टीबाट सक्रिय हुनुहुन्छ ।
२०७९ मा लोसपाबाट विजयी शुक्लाले गोरखापत्रसँग कुरा गर्दै यसलाई आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “संसद् पूरा कार्यकाल चलेको भए २०८४ सालमा चुनाव नलड्ने सोच थियो । बिचमै संसद् भङ्ग भएपछि आवश्यकताले चुनावी मैदानमा यस पटक पनि उत्रिएको हुँ ।” आठौँ पटक चुनावी मैदानमा उत्रिएका त्रिपाठी र शुक्ला दुवैको यात्रा जितहार, सत्ता प्रतिपक्ष र दल परिवर्तनले खारिएको छ । निरन्तरता, लचकता र समय अनुसार राजनीतिक धार समात्ने क्षमताले उहाँहरू अझै प्रतिस्पर्धामा टिकिरहनुभएको छ ।