शेरबहादुर सार्की
बाजुरा, माघ २५ गते । बाजुराको बडीमालिका नगरपालिका–४ का ओलेनावासी यतिबेला गाउँमा उम्मेदवारको पर्खाइमा बसेका छन्।
२०७६ सालदेखि यो बस्ती पहिरो र नदी कटानको उच्च जोखिममा रहँदै आएको छ। अहिले यहाँका स्थानीय हिउँदमा घरमै बस्ने र वर्षायाममा घर छोडेर सुरक्षित स्थानको खुला चौरमा त्रिपाल टाँगेर बस्ने गरेका छन्।
पहिरो तथा नदी कटानको जोखिममा परेको बस्ती स्थानान्तरणको माग राख्ने उद्देश्यले ओलेनावासी यतिबेला उम्मेदवारको पर्खाइमा बसेका हुन्। बस्तीको माथिबाट पहिरो बग्ने र तलतिरबाट नदीले निरन्तर जमिन कटान गर्दै गएकाले स्थानीय बस्ती स्थानान्तरणको पर्खाइमा रहेका छन्। यसका लागि उनीहरूले पटक–पटक सरकारसँग माग राख्दै आए पनि हालसम्म सम्बोधन हुन सकेको छैन।
बस्ती जोखिममा परेपछि यहाँका स्थानीय हिउँदमा घरमै बस्ने र वर्षायाममा त्रिपालको भरमा खुला चौरमा बस्ने गरेको स्थानीय दलु नाथले बताउनुभयो। उहाँका अनुसार पहिले यहाँ १६ परिवार बसोबास गर्दै आएका थिए। गत वर्ष नदीले तीन परिवारका घर बगाएपछि उनीहरू अन्यत्र सरेका छन् भने हाल १३ घरपरिवार मात्र बसोबास गरिरहेका छन्। ती १३ घर पनि अहिले पहिरो र नदी कटानको जोखिममै रहेका छन्।
सरकारले माग सम्बोधन नगरेको गुनासो गर्दै स्थानीयले चुनावका बेला भोट माग्न आउने उम्मेदवारसमक्ष बस्ती स्थानान्तरणको माग राख्ने तयारी गरेका छन्। “वर्षायाममा नदीले जमिन कटान गरिरहन्छ, तर उम्मेदवार अहिलेसम्म गाउँमा आएका छैनन्,” नाथले भन्नुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू गाउँबस्तीमा पुग्न थाले पनि ओलेना बस्तीमा भने अहिलेसम्म उम्मेदवार नआएको स्थानीय बताउँछन्। उम्मेदवार गाउँमा आएपछि बस्ती स्थानान्तरणका लागि प्रतिबद्धता जनाउने उम्मेदवारलाई नै मत दिने ओलेनावासीको तयारी छ।
२०७६ सालदेखि बाढीपहिरोको उच्च जोखिममा रहेको यस बस्तीका १३ घरपरिवार अझै पनि जोखिमयुक्त स्थानमै बसोबास गरिरहेका छन्। हिउँदमा सहज भए पनि वर्षायाममा कहाँ बस्ने भन्ने चिन्ताले स्थानीयलाई सताइरहेको छ। यही चिन्ता समाधानका लागि आगामी निर्वाचनमा भोट माग्न उम्मेदवार कहिले गाउँमा आउलान् भन्ने पर्खाइमा आफूहरू बसेको नाथले बताउनुभयो।
नदी कटानको जोखिममा परेको बडीमालिका नगरपालिका–४ को ओलेना बस्ती। तस्बिर ः शेरबहादुर सार्की