• २५ माघ २०८२, आइतबार

मतदाताका पुरानै गुनासो

blog

बैतडी समाचारदाता 

बैतडी, माघ २५ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो पटक बैतडीमा प्रायः सबैजसो नयाँ अनुहार चुनावी दौडमा निस्किएका छन् । भोट माग्न उम्मेदवार गाउँबस्तीमा पुग्दा अधिकांश मतदाताले रोजगारी नपाएको, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार नपाएको पुरानै गुनासो दोहो¥याएका छन् ।  

प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १० जना राजनीतिक दलका उम्मेदवार र दुई जना स्वतन्त्रसहित १२ जना चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका उम्मेवार चतुरबहादुर चन्द भोट माग्न डिलासैनी गाउँपालिका पुग्दा स्थानीयले स्वास्थ्य उपचार नपाएको गुनासो पोखेका छन् । मतदाता भेट्न सिगास गाउँपालिका पुग्नुभएका स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीसँग स्थानीयले बेरोजगारीको पीडा सुनाएका छन् । नेकपा (एमाले) का दामोदर भण्डारीसँग पुर्चौडीवासीले खानेपानीको समस्या दर्साएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्र चन्दसँग पनि अधिकांश मतदाताले जिल्लामै रोजगारी नपाएको गुनासो पोखेका छन् । 

तथ्याङ्क अनुसार बैतडीमा जडीबुटी, फलाम खानी, कृषि मलमा प्रयोग हुने फस्फोराइट खानी भए पनि यो जिल्ला देशका १० गरिब जिल्लाको सूचीमा छ । जडीबुटी उद्योग, कलकारखानाको प्रचुर सम्भावना भए पनि यहाँको जडीबुटीको कच्चा पदार्थ बिचौलियामार्फत भारत निकासी हुने गरेको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा ८४ वडा रहेका छन् । दुई लाख ४४ हजार जनसङ्ख्यामध्ये युवाको ठुलो पङ्क्ति वैदेशिक रोजगारीमा छ ।