• २५ माघ २०८२, आइतबार

पूरा भएनन् बादी समुदायका माग

blog

सुर्खेत समाचारदाता

सुर्खेत, माघ २५ गते । वीरेन्द्रनगर नगरपालिका–११ को बादी समुदायको बस्ती भेरी नदी र झुप्राखोलाको दोभानमा छ । सदरमुकाम वीरेन्द्रनगर बजारदेखि करिब १० किमीनजिकै उक्त बस्ती भए पनि त्यहाँ प्रत्येक निर्वाचनमा विकास गर्ने आश्वासन दिइन्छ तर पूरा हुँदैन । बादी समुदायले नदी र खोला किनारको बस्ती भएकाले स्थानान्तरणको माग गरेका छन् । बादी बस्तीले हरेक निर्वाचनमा राख्ने यो माग भने अहिलेसम्म पूरा नभएको उनीहरू बताउँछन् । 

बालुवा चालेर जीवन चलाउँदै आएका उनीहरूका लागि आयआर्जन, रोजगारको माग गरिन्छ । बस्तीमै रहेको विद्यालय गाभिएपछि बालबालिका अहिले बसमा चढेर अर्को विद्यालयमा जाने गरेका छन् । जसका लागि उनीहरूले गाडी भाडा तिर्नु पर्छ । वर्षमा खोला करिब छ महिना बन्द गर्दा बालुवा निकाल्न नपाइने भएकाले जीवन चलाउन गाह्रो हुने गर्दछ । प्रत्येक निर्वाचनमा राजमार्गदेखि बस्तीसम्म पुग्ने सडक कालोपत्रे हुनुपर्ने माग राखे पनि अहिलेसम्म पूरा हुन नसकेको स्थानीय धनसरा बादीले बताउनुभयो । 

उहाँले आफूहरूले २०७४, २०७९ सालमा पनि बादी बस्तीको विकासका लागि राखेका माग अहिलेको निर्वाचन आउने बेलासम्म पनि पूरा नभएको दुःखेसो पोख्नुभयो । खोला किनारमा बस्ती भएकाले बस्ती स्थानान्तरण प्रमुख माग भए पनि मत माग्ने बेला उम्मेदवारले पूरा गर्ने आश्वासन दिए पनि अहिलेसम्म पूरा नभएको उहाँले बताउनुभयो । छ महिना खोलाबाट बालुवा निकाल्न रोक लगाउने भएकाले त्यतिबेला कसरी जीवन चलाउने भन्ने उहाँको चासो छ । 

उहाँले मत माग्न आउने उम्मेदवारलाई आफ्नो बस्तीको पुरानै र केही नयाँ माग राख्ने तयारी गरेको उल्लेख गर्दै अहिलेसम्म मत माग्न कोही नआएको बताउनुभयो । 

सोही बस्तीकी सुशीला बादीले हरेक निर्वाचनमा एउटै माग राख्दा पनि अहिलेसम्म कुनै पनि दलले पूरा नगरेको जनाउनुभयो । उहाँले बस्तीमा अझैसम्म विद्युतीकरण पनि नभएको बताउनुभयो । सफा खानेपानीको योजना नहुँदा खोला र भेरीकै धमिलो पानी खानुपर्ने अवस्था छ । बादी बस्तीमा नेता मत माग्न मात्र आउने दुःखेसो उहाँको छ ।