वासुलिङ समाचारदाता
वासुलिङ (बैतडी), माघ २५ गते । जन्ती लिएर फर्किंदै गरेकाहरूमा यात्रा गरिरहँदा खुसी र उत्साह थियो । दुलहीको घरबाट हिँडेको करिब १५–२० मिनेटमै त्यो खुसी पुर्चौडीको एउटा उकालो घुम्तीमा शोकमा बदलियो । बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा बिहीबार साँझ भएको बस दुर्घटनाले १३ जनाको ज्यान लियो भने ३४ जना घाइते भए ।
दुलहिकी आमाले छोरीलाई पराइघर पठाएको पीडा मेटिन नपाउँदै छोराको असामयिक निधनले आफू शोकमा डुबेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “छोरी पराइघर दिँदाको दुःख मनमै थियो । दिदी पु¥याउन गएको मेरो छोराले बाटोमै ज्यान गुमायो ।”
एउटै दिनमा छोरीको बिछोड र छोराको स्वर्गवास भोग्नुपर्दा जीवन नै शून्य बनेको उहाँको भनाइ छ । घरमा खुसीको सट्टा चिहान झैँ सन्नाटा छाएको भन्दै उहाँले आँसु झार्नुभयो ।
पुर्चौडी नगरपालिका–७, भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस बिहीबार उकालो र साँघुरो घुम्तीमा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा घाइते भएका ३४ जनाको डडेलधुरा र धनगढीमा उपचार भइरहेको छ भने एक जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी घटनास्थलमै छ जनाको मृत्यु भएको थियो । थप दुई जनाको कोटिला स्वास्थ्य चौकीमा र डडेलधुरा अस्पताल लैजाँदै गर्दा पाँच जनाको मृत्यु भएको थियो ।
मृतक र घाइतेहरू सबै दुलाहा–दुलहीका आफन्त तथा नातेदार रहेका छन् । दुर्घटनामा सहोदर दाजुभाइ, बुवाछोरा, छोरीज्वाइँसमेत परेका छन् । दुर्घटना ग्रस्त बसमा ४९ जना सवार रहेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
चालकसँगको प्रारम्भिक बयान र यात्रुको अवस्थालाई हेर्दा बस अत्यधिक यात्रु बोकेको र उकालो घुम्तीमा ब्याक हुँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
दुर्घटनाबाट ज्यान जोगाउन सफल पुर्चाैडी नगरपालिका निवासी चन्द्र अवस्थीले बसचालकले बाटोमा अस्वाभाविक रूपमा गाडी चलाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा तलमाथि गाडी घुमाइरहेको जस्तो लाग्थ्यो । स्थानीय नन्दसिंह ऐरिका अनुसार सडक कच्ची, उकालो र भिरालो अवस्थाको भएको हुँदा यो अवस्था आएको भनाइ छ । बिथडचिर गाउँपालिका–४ का शङ्करदत्त जोशी भन्नुहुन्छ, “चालकले उकालोमा तीव्र गतिमा बस चलाएको र घुम्तीमा मोड्न नसकेपछि ब्याक गियर हाल्दा बस बिस्तारै पछाडि सर्दै भिरमा खसेको हो ।