• २५ माघ २०८२, आइतबार

थारू मौलिकताको पहरेदार मनकुमारी

blog

मौलिक वेशभुषामा मनकुमारी चौधरी । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, माघ २५ गते ।
बदलिँदो समयसँगै लोपोन्मुख बन्दै गएको थारू समुदायको मौलिक वेशभूषा, कला र परम्परागत न्याय प्रणाली जोगाउन एक महिला अगुवाको भूमिका उदाहरणीय बन्दै गएको छ । लोपोन्मुख मौलिक भेषभूषाको संरक्षण र प्रवद्धनका लागि आफै घाँटीभरि परम्परागत गहना र मौलिक वेशभूषामा सजिएर प्रायः सार्वजनिक कार्यक्रममा पुग्नुहुन्छ, तुलसीपुर उपमहानगरपालिका १० गैह्रागाउँकी मनकुमारी चौधरी । मनकुमारीको परिचय यतिमा मात्र सीमित छैन । उहाँ थारू समुदायको सांस्कृतिक पहिचान संरक्षणदेखि गाउँको सामाजिक न्याय र विकाससम्म पनि उत्तिकै रूपमा खट्नुहुन्छ ।

उहाँ थारू समुदायको परम्परागत प्रथाजनति संस्था मटाँवा प्रथा जोगाउनमा पनि उत्तिकै क्रियाशिल हुदै आउनुभएको छ । पुस्तौँदेखि चल्दै आएको मटाँवा प्रथाको नेतृत्व सम्हाल्दै परम्परागत प्रणालीलाई आजको सामाजिक आवश्यकतासँग जोड्ने प्रयास गरिरहनुभएको छ । विगत दुई वर्षदेखि मटाँवाको नेतृत्व गर्दै आउनुभएकी मनकुमारीले समुदायभित्र देखिने विवाद, असमझदारी र सामाजिक समस्याको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

परम्परागत विधि, छलफल र आपसी सहमतिका आधारमा न्याय निरूपण गर्ने मटाँवा प्रथालाई उहाँको सक्रियताले अझ व्यवस्थित र विश्वसनीय बनाएको स्थानीयको भनाइ छ । सांस्कृतिक अगुवाइसँगै मनकुमारी गैह्रागाउँको समग्र विकासमा पनि सक्रिय रुपमा लागिरहनुभएको छ । गाउँमा सामाजिक सद्भाव कायम गर्ने, महिला र युवालाई संगठित गर्दै समुदायप्रति जिम्मेवार बनाउने तथा कुरीति र भेदभावविरुद्ध आवाज उठाउने काममा उहाँ अग्रपंक्तिमा रहनुभएको छ । विकास निर्माणका सवालमा स्थानीय सरकारसँग समन्वय गर्ने र गाउँलेको साझा आवाज उठाउने भूमिकामा पनि उहाँ सक्रिय रहनुहुन्छ ।

नकुमारीको निरन्तरता, इमान्दारिता र समर्पणले गाउँलेहरूको विश्वास जितेको छ । उहाँको नेतृत्वमा समुदायका सदस्यहरू पनि संस्कृति संरक्षण र सामाजिक काममा साथ दिन प्रेरित भएका छन् । सामूहिक निर्णय र सहभागितामूलक नेतृत्वशैलीका कारण गैह्रागाउँमा एकता र सहकार्य बलियो बन्दै गएको उहाँले बताउनुभयो ।

गाउँलेहरूको सामूहिक सहयोगकै कारण आफू आजको जिम्मेवारीसम्म आइपुगेको मनकुमारी बताउनुहुन्छ । “कुनै पनि काम एक्लैले सम्भव हुँदैन, हरेक ठाउँमा सामूहिकताको खाँचो पर्छ,” उहाँ भन्नुहुन्छ, “म त झन गाउँको मटाँवा हुँ । मटाँवाको हैसियतले हाम्रो परम्परागत संस्कार, संस्कृति र पूजापाठ जोगाउनु मेरो कर्तव्य हो र यस काममा गाउँका सबैको साथ र सहयोग पाएकी छु ।” “मटाँवा भनेको गाउँको अगुवाइ गर्नु मात्र होइन, समुदायभित्र एकता, विश्वास र मेलमिलाप कायम गर्ने महत्वपूर्ण माध्यम पनि हो,” मनकुमारीले भन्नुभयो, “हाम्रो संस्कृति र परम्परालाई संरक्षण गर्दै न्यायपूर्ण वातावरण सिर्जना गर्नु मेरो जिम्मेवारी ठानेकी छु ।” उहाँका अनुसार परम्परा जोगाउनुको अर्थ समयसँग पछि फर्किनु होइन । “हाम्रो मौलिक पहिचान बचाउँदै नयाँ पुस्तालाई संस्कृतिप्रति सचेत र जिम्मेवार बनाउनु नै दिगो विकासतर्फ अघि बढ्ने सही बाटो हो,” उहाँले भन्नुभयो ।