• २५ माघ २०८२, आइतबार

सल्यानमा उम्मेदवारलाई मतदाताको प्रश्न - बाचा पूरा नभए के हुन्छ?

blog

सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बजारमा आयोजित संवाद कार्यक्रममा सहभागी उम्मेदवारहरू। तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २५ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय भएका छन्। यस पटक मतदाता विगतभन्दा बढी सचेत देखिएका छन्। उनीहरूले उम्मेदवारले दिएका प्रतिबद्धता मात्र होइन, ती पूरा गर्न स्पष्ट योजना समेत खोजिरहेका छन्।

श्रीनगरमा सल्यानी युवा सञ्जालले आयोजना गरेको ‘सल्यान संवाद : जनताको सवाल, उम्मेदवारको जवाफ’ कार्यक्रममा नागरिकले उम्मेदवारसँग आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, सडक, कृषि तथा बेरोजगारीलगायत विषयमा प्रतिबद्धता माग गरेका छन्।

बागचौर–३ का इन्द्रबहादुर भण्डारीले “पूर्वाधार गाउँमा पुगेको छ, तर मानिस फर्केका छैनन्। आफ्नै गाउँघरमा नागरिक फर्काउन उम्मेदवारको योजना के छ?” भनी प्रश्न गर्नुभयो। सल्यानका किसानहरूले कृषिजन्य वस्तुको उचित मूल्य र सल्यान कहिले कृषिमय जिल्ला बन्छ भन्ने जिज्ञासा पनि राखेका छन्।

शारदा–२ का कविराज रोकायले “निर्वाचनमा दिइएका बाचा पूरा नभए के गर्ने?” भन्दै पाँच वर्षपछि प्रतिबद्धता पूरा नभए विकल्प के हुन्छ भनेर प्रश्न गर्नुभयो।

शारदा–१४ का प्रदीप भण्डारीले विकास निर्माणमा राजनीतिकरण हुने कारणबारे प्रश्न उठाउँदै “नागरिक भएर राज्यले दिने सेवा–सुविधा उपभोग गर्न पनि राजनीति गर्नुपर्ने हो र?” भन्ने जिज्ञासा राख्नुभयो। शारदा नगरपालिका–६ का गोविन्दनाथ योगीले मूल्यवृद्धि, कृषि तथा रोजगारीसँग सम्बन्धित उम्मेदवारका योजनाबारे प्रश्न गर्नुभयो।

संवाद कार्यक्रममा नेपाली कांग्रेस, एमाले र रास्वपा सहभागी नभए पनि नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्ल, नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा क्षेत्री, नेशनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालिदास विक तथा स्वतन्त्र उम्मेदवार ध्रुवराज वलीले आफ्ना आगामी एजेन्डा र योजनाबारे जानकारी दिनुभयो।

सल्यानमा २०६४ देखि तत्कालीन माओवादी केन्द्र (हालको नेपाली कम्युनिस्ट पार्टी) ले जित्दै आएको स्थान भएकाले धेरै प्रश्न नेकपा उम्मेदवार मल्लतर्फ केन्द्रित थिए। नागरिकले राप्ती राजमार्ग, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत विषयमा प्रश्न उठाउँदै विगतका प्रतिबद्धता पूरा नभएको कारण पनि सोधेका थिए।

जवाफमा उम्मेदवारहरूले जिल्लाका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्नेमा जोड दिए। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले “जिल्लाका तमाम समस्याबीच प्राथमिकता निर्धारण गरेर मात्र निकास निकाल्न सकिने” बताउनुभयो। उहाँले पूर्वाधार क्षेत्रमा भएका केही कामलाई आधार बनाएर अघि बढ्ने योजना रहेको उल्लेख गर्नुभयो।

स्वतन्त्र उम्मेदवार ध्रुवराज वलीले “युवालाई सिपमा जोडेर आफ्नै माटोमा टिक्न सक्ने वातावरण बनाउन आवश्यक छ” भन्नुभयो। नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा क्षेत्रीले “विकास क्रमशः र योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ” भन्ने धारणा राख्नुभयो। नेशनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्तीले “विकास सरकार मात्रको जिम्मेवारी होइन, सबै नागरिकको साझा दायित्व हो” बताउनुभयो। संयुक्त नागरिक पार्टीका कालिदास विकले “सुशासन र जवाफदेहिताबिना विकास सम्भव हुँदैन” भन्नुभयो। मतदाता र उम्मेदवारबीचको यस संवादले आगामी निर्वाचनमा जनसरोकार र प्रतिबद्धताप्रति सचेत मतदाताको भूमिका अझ स्पष्ट बनाएको छ।