अजय शाह
गौशाला (महोत्तरी), माघ २५ गते । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै फागुन ६ गतेदेखि औपचारिक चुनावी सभा सुरु गर्ने भएको छ । पार्टीको पहिलो ठूलो चुनावी सभा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिने निर्णय गरिएको छ ।
विशेष अधिवेशनमार्फत सभापतिमा निर्वाचित गगन कुमार थापाले नेतृत्व सम्हालेपछि कांग्रेसको पहिलो केन्द्रीयस्तरको चुनावी सभा मधेशमै गर्न लागिएको हो । सभापति थापा यसपटक सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार पनि हुनुहुन्छ । मधेशबाट चुनावी अभियान सुरु गर्नुले कांग्रेसले यो प्रदेशलाई रणनीतिक रूपमा उच्च प्राथमिकतामा राखेको सङ्केत गरेको नेताहरूले बताएका छन् ।
फागुन ६ गते बुधबार जनकपुरधामस्थित तिरूहतिया गाछीमा आयोजना हुने उक्त मधेश सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।
सभाको तयारीका लागि शनिबार पार्टीको मधेश प्रदेश कार्यालय थापा चौक, जनकपुरधाममा प्रदेश कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकले सभालाई भव्य र प्रभावकारी बनाउने निर्णय गर्दै विभिन्न जिम्मेवारीसमेत तोकेको छ ।
बैठकअनुसार सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई दिइएको छ भने मञ्च व्यवस्थापनको जिम्मेवारी कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारलाई प्रदान गरिएको छ ।
कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार मधेश सभाको समग्र तयारी, व्यवस्थापन र संगठनात्मक पक्षलाई सशक्त बनाउने विषयमा विस्तृत छलफल भएको छ । सभालाई ऐतिहासिक बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट एक लाखभन्दा बढी नेता–कार्यकर्ता तथा समर्थकलाई सहभागी गराउने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
नेतृत्व परिवर्तनपछि पहिलो ठुलो चुनावी सभामार्फत कांग्रेसले मधेशबाटै सशक्त चुनावी सन्देश दिने तयारी गरेको विश्लेषकहरूको भनाइ छ ।