अमरराज नहर्की
तनहुँ, माघ २५ गते । तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौर, दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस तथा आदिकवि भानुभक्त माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न तेस्रो अन्तरविद्यालय मिनी म्याराथन दौड प्रतियोगिताको उपाधि छात्रतर्फ कमल बिक र छात्रातर्फ मनकुमारी लामाले जित्नुभएको छ ।
क्याम्पस परिसरबाट सुरु भई व्यास–१४ स्थित धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही मन्दिरसम्म तय गरिएको ६ दशमलव २ किलोमिटर दूरी महेन्द्रज्योति माध्यमिक विद्यालय, शिशाघाटका छात्र कमल बिकले २१ मिनेट ४८ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको हो । प्रतियोगितामा बागलुङका बिमल नेपाली २२ मिनेट ३६ सेकेन्डका साथ दोस्रो र पर्वतका निश्चल राना २२ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुनुभयो ।
यसैगरी, छात्रातर्फ पञ्चमुनी माध्यमिक विद्यालय, तनहुँकी मनकुमारी लामा प्रथम हुनुभयो । लक्ष्मी आधारभूत विद्यालय, पर्वतकी सिम्रन थापा दोस्रो र जनजागृति माध्यमिक विद्यालय, स्याङ्जाकी विमला माया मानन्धर तेस्रो हुनुभयो ।
विजेता छात्र तथा छात्रा दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । शनिबार गरिएको प्रतियोगितामा तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ र पर्वत जिल्लाका ३७ विद्यालयका चार सय १२ जना विद्यार्थी धावकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
यसअघि क्याम्पस परिसरमा आयोजित उद्घाटन समारोहमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रिबन काटेर म्याराथनको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा नगर प्रमुख न्यौपानेले खेलकुदले स्वास्थ्य, पर्यटन र धार्मिक आस्थालाई एकसाथ जोड्ने माध्यमका रूपमा काम गर्ने उल्लेख गर्दै ‘शिक्षादेखि आस्थासम्म’ भन्ने नारालाई व्यवहारमा उतार्ने विद्यालयको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।
पुरस्कार वितरण तथा समापन समारोहमा व्यास नगरपालिका वडा नं. १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले मिनी म्याराथनको मुख्य उद्देश्य छाब्दी बाराही मन्दिरको प्रचार–प्रसार गर्दै धार्मिक पर्यटन प्रवर्धन गर्नु रहेको बताउनुभयो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीमा स्वास्थ्य, अनुशासन र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, क्याम्पस सञ्चालक समिति सदस्य, प्राध्यापक, शिक्षक तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।