• २५ माघ २०८२, आइतबार

पानी रङका रोज्जा कला प्रदर्शन

blog

फडिन्द्र अधिकारी

लेखनाथ, माघ २५ गते । पानी रङको सहरका रूपमा परिचित पोखरामा स्थापित कलाकारहरूले सिर्जना गरेका पानी रङका उत्कृष्ट कला प्रदर्शनीमा राखिएको छ । आइडब्लुएस हेमकान्ती आर्ट ग्यालरीको आयोजनामा भएको प्रदर्शनी शनिबार र आइतबार चल्ने छ ।

‘मास्टर्स अफ दी मोमेन्ट २’ नाम दिइएको प्रदर्शनी अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’, साहित्यकार सरुभक्तलगायतले अवलोकन गर्नुभएको छ । प्रदर्शनीमा पोखराका अग्रज कलाकारहरू क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, हरेराम जाजिजू, एलपी गुरुङ र रमेश श्रेष्ठका कला राखिएका छन् । 

अग्रज कलाकार वात्स्यायनले पोखरेली कलाको विकासमा पानी रङको विशेष भूमिका रहेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “पोखराको कला र कलाकारलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा लैजाने माध्यम पानी रङका कला नै हुन् । त्यसैको जगमा आजको पोखराको कला इतिहास बनेको हो ।” 

१४ औँ विश्व जलरङ दिवसको सन्दर्भमा भएको कार्यक्रममा उहाँले पानी रङलाई कलाकारको जगको सङ्ज्ञा दिनुभयो । “पानी रङ कलाकारको जग हो, कलाको जरा हो,” उहाँले भन्नुभयो, “सबै जसो कलाकारले पानी रङबाटै यात्रा सुरु गर्छन् र पछि अरुतिर लाग्छन् । पानी रङलाई निरन्तरता दिन गाह्रो पनि छ ।” साहित्यकार सरुभक्तले हजुरबा पुस्ताले गरेको सिर्जना नाति पुस्तालाई जानकारी दिन प्रदर्शनीले सघाउने विचार राख्नुभयो । प्रदर्शनीमा पाँच कलाकारले सन् १९७८ देखि २०१० सम्म सिर्जना गरेका पानी रङका ४५ चित्र राखिएका छन् । विभिन्न पुस्ताका कलालाई उजागर गर्दै अग्रज र समकालीन पुस्ताबिच ज्ञान र अनुभव साटासाट गर्न प्रदर्शनी आयोजना गरिएको आइडब्लुएस हेमकान्ती आर्ट ग्यालरीकी अध्यक्ष हेमकान्ती गुरुङले उल्लेख गर्नुभयो ।