देवराम यादव
सप्तरी, माघ २५ गते । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार भएको शंकास्पद वस्तुको विस्फोटमा परी घाइते चार जना बालकको सफल शल्यक्रिया गरिएको छ। घाइते बालकहरूको शरीरबाट शल्यक्रिया गरी छर्रा निकालिएको हो।
दुधैला खोलामा बनभोज खान गएका बेला शंकास्पद विस्फोटक पदार्थ विस्फोट हुँदा उनीहरूको शरीरमा छर्रा लागेको थियो। घाइते बालकहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा सफल शल्यक्रिया गरी खुट्टा तथा शरीरका विभिन्न भागबाट छर्रा निकालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शंकास्पद वस्तु विस्फोट हुँदा स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहास मगर, मनोज थापा मगरका ९ वर्षीय छोरा प्राशिस थापा मगर, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर थापा मगर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज विक घाइते भएको प्रहरीले जनाएको छ।
शनिबार बिहान घरनजिकैको वनमा बनभोज खान गएका उनीहरू बिहान साढे ११ बजे अचानक भएको विस्फोटमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पिकनिक गएका बालकहरू दाउरा खोज्न जाँदा शंकास्पद वस्तु भेटेपछि लिएर आएका र उक्त विस्फोटक पदार्थ चुल्हो नजिक राख्दा अचानक विस्फोट हुँदा उनीहरू घाइते भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताउनुभयो। उक्त शंकास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि गर्दै उहाँले कसले, किन राखिएको तथा बालकहरूले कसरी फेला पारे भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो।
घाइतेमध्ये साहास र प्राशिसको पैतालामा गम्भीर चोट लागेको तथा शरीरका विभिन्न भागमा छर्रा लागेको छ भने कविर र सुरजको शरीरका विभिन्न भागमा पनि छर्रा लागेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो।
उक्त स्थान नेपाली सेनाको अभ्यास स्थल रहेको र सेनाले बिर्सिएर छोडेको वा विस्फोट हुन नसकी हराएको बम हुन सक्ने स्थानीयले आशंका गरेका छन्। अभ्यासमा रहेका नेपाली सेना एक महिना अगाडि फर्किएको तथा हराएको बमको खोजतलास हुँदै आएको स्थानीयले बताएका छन्।