• २५ माघ २०८२, आइतबार

असी करोड राजस्व सङ्कलन

blog

मकवानपुरगढी समाचारदाता

मकवानपुरगढी, माघ २५ गते । मकवानपुरको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजार रुपियाँले बढी हो ।

यसै गरी चालु आवको पहिलो छ महिनामा अन्तःशुल्कतर्फ एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख दुई हजार, ब्याज करतर्फ तीन करोड ६९ लाख ४७ हजार र बहाल करतर्फ ८१ लाख २६ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताउनुभयो । 

गत आवको सोही अवधिमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको थियो । उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धि करतर्फ पाँच हजार ८४९, अन्तःशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फ ८१ हजार ८१२ करदाता सूचीकृत छन् । 

कर दाखिला गर्न आनाकानी गर्ने करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकिता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी  १० करोड बक्यौता असुली भएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।