• २५ माघ २०८२, आइतबार

‘समुन्नति र स्थिरताको नेतृत्व कांग्रेसले गर्छ’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशका सबै राजनीतिक शक्तिलाई मिलाएर अघि बढाउने क्षमता कांग्रेससँग भएको बताउनुभएको छ । कांग्रेसले काठमाडौँ क्षेत्र नं. ५ मा आयोजना गरेको निर्वाचनसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको र अब समुन्नति र स्थिरताको नेतृत्व गर्ने बताउनुभएको हो । 

उहाँले दलीय भागबन्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त रूपमा उभिने बताउनुभयो । उहाँले विशेष महाधिवेशनमार्फत कांग्रेस बदलिएको बताउनुभयो । उहाँले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पु¥याउन आग्रह गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मर्म र भावना अनुसारै कांग्रेस बदलिएको प्रस्ट पार्नुभयो । उहाँले अब देश बदल्ने अभियानमा कांग्रेस होमिएको बताउनुभयो । 

सभापति थापाले कांग्रेसलाई मतदान गर्ने २७ लाख नागरिकसँग संवाद र जेनजीले उठाएका मुद्दा सुन्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसमा पक्षविपक्ष नरहेको प्रस्ट पार्दै पार्टीलाई जिताउन सबै एक ठाउँमा आउन आह्वान पनि गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेससँग रिसाएकालाई कांग्रेस बदलिएको सन्देश पु¥याउनुपर्ने छ । विशेष महाधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो । यो सन्देश लिएर घर घर जानु पर्छ ।”

कार्यक्रममा कांग्रेस महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताउनुभयो । उहाँले नागरिकले चाहे जस्तै परिमार्जन र रूपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले नेतृत्व र विचार प्रष्टबाट परिवर्तन गरेर आएको र नागरिकले सच्चिएर रूपान्तरित भएर आउन भनेकाले त्यसै अनुसार सच्चिएको बताउनुभयो । 

सभापति थापाको प्रस्टोक्ति 

कांग्रेस सभापति गगनकुमार थापाले पाँच वर्षमा समग्र विकासमा योजनाबद्ध काम गरेर मधेशसँगै देशका हरेक नागरिकको दैनिकीमा परिवर्तन ल्याउने उद्घोष गर्नुभएको छ । काठमाडौँमा बसोबास गर्ने सर्लाहीका नागरिकसँगको अन्तरसंवादमा उहाँले देश समाल्ने र देशभित्र देखिएको अविश्वासलाई विश्वासमा बदलेर राजनीतिक निकास दिने अठोट व्यक्त गर्नुभएको हो । उहाँले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि देशमा नयाँ अध्याय सुरु हुने र सबै पक्षसँग हालेमालो गरेर देशको समुन्नतिमा लाग्ने बताउनुभयो ।