• २५ माघ २०८२, आइतबार

राष्ट्रिय सभा अधिवेशन अन्त्य गर्ने तयारी

blog

काठमाडौँ, माघ २५ गते । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुन लागेको छ । निरन्तरता दिन पर्याप्त कार्यसूची नरहेको र प्रतिनिधि सभा सदस्यको निर्वाचनसमेतलाई ध्यानमा राखेर अधिवेशन अन्त्य हुन लागेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनका बेला काठमाडौँमै बस्नुपर्ने भएकाले राष्ट्रिय सभाका सदस्यको समेत अधिवेशन अन्त्य गर्न सुझाव छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सरकारसँग अधिवेशन अन्त्य गर्ने विषयमा अनौपचारिक रूपले संवाद भएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने हो । सोअघि सरकारले संसद् सचिवालयसँग कार्यसूचीलगायतबारे परामर्श गर्ने हो । सरकार र सचिवालयबिच संवाद भएको हो ।”

सङ्घीय संसद् सचिवालयले माघ पहिलो साता तय गरेको माघ महिनाको कार्यसूची यसै साता परिमार्जन ग¥यो । परिमार्जित कार्यतालिकामा बिदाइ हुने राष्ट्रिय सभाका सदस्यको बिदाइ अनुभूति राख्ने कार्यक्रम समावेश गरिएको छ । कार्यतालिका अनुसार माघ २६ गतेको बैठकमा सदस्यले बिदाइ अनुभूति राख्नुहुने छ । २०७६ फागुनमा निर्वाचित राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल फागुन २० गते सकिँदै छ । प्रवक्ता गिरीले भन्नुभयो, “कार्यतालिकामा २६ गते नै बिदाइ अनुभूति राख्ने तय भए पनि २८ गतेको बैठकमा समेत सो विषयले निरन्तरता पाउन सक्ने छ ।”

प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते हुँदै छ । मनोनीत दुई जनाबाहेक राष्ट्रिय सभाका बाँकी सबै सदस्य कुनै न कुनै दलमा आबद्ध हुनुहुन्छ । निर्वाचनका बेला दलको प्रतिनिधित्व गरी चुनाव प्रचारप्रसारमा जानुपर्ने भएकाले अधिवेशन अन्त्य गर्नुपर्ने सभाका सदस्यको सुझाव छ । प्रवक्ता गिरीले भन्नुभयो, “तल्लो सदनको सदस्यका लागि निर्वाचन भइरहँदा माथिल्लो सदनको कारबाही अगाडि बढाउनु सान्दर्भिकसमेत देखिएन ।” सचिवालयका अनुसार नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अर्को अधिवेशनमा अब सँगै बस्ने छ । यसबिचमा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथग्रहण, समितिमा मनोनयनलगायतका गतिविधि हुने छन् । नवनिर्वाचित सदस्यको पदावधि फागुन २१ गतेदेखि सुरु हुने छ । 

परिमार्जित कार्यतालिकामा फागुन १ गते समेत बैठक राखिएको जानकारी गराइएको छ । सामान्यतया संसद् सचिवालयले पाक्षिक रूपमा कार्यतालिका प्रकाशन गर्दै आएको छ । तालिका अनुसार माघ २६ गतेको बैठकमा पर्यटन विधेयकसम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस हुने छ ।