• २२ माघ २०८२, बिहिबार

पोखरा म्याराथनको तयारी

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, माघ २२ गते । २०औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र गतिमा भइरहेको छ । 

पर्यटन राजधानी पोखरामा आउँदो फागुन २ गते नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने प्रतियोगिताका लागि नेपालसहित १७ देशका धावकले नाम दर्ता गराएका हुन् । 

आयोजक मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै थप्नुभयो, “यही माघ २४ गतेसम्म म्याराथन सहितका विभिन्न विधामा सहभागी हुने खेलाडीले नाम दर्ता गराउन सक्छन् ।” म्याराथन पोखरा रङ्गशालाबाट सुरु भई पोखरका विभिन्न रुट हुँदै लेकसाइडमा समापन हुने छ । 

मुख्य म्याराथनतर्फ प्रथम हुने धावकले चार लाख, दोस्रो हुनेले दुई लाख, तेस्रोले एक लाख र चौथो हुनेले ५० हजार रुपियाँ पाउने छन् । गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न ‘गण्डकी उत्कृष्ट’ विधाको व्यवस्था गरिएको छ  ।

यसपालिबाट ‘म्याराथन नेपाल’ विधा थप गरिएको छ । मुख्य स्पर्धासँगै महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, पाँच किलोमिटर छात्र–छात्रा दौड, ४५ वर्षमाथिको भेट्रान दौड, ह्विल चियर तथा दृष्टिविहीन दौडसमेत प्रतियोगितामा हुने छन् । 

यी सबै विधाका विजेतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । म्याराथनसहित २१ विधामा वितरण गरिने पुरस्कारका लागि मात्रै १९ लाख ८९ हजार रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । १९औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुयोटले जित्नुभएको थियो ।