अमरराज नहर्की
तनहुँ, माघ २२ गते । तनहुँको व्यास नगरपालिका–८ मा पर्ने शहीद कालिका मोटरमार्ग अन्तर्गत अमले जौबारीदेखि बिलाउनीसम्मको सडक खण्ड कालोपत्रे हुने निश्चित भएपछि स्थानीयवासीको वर्षौँदेखिको प्रतीक्षा अन्त्यतर्फ उन्मुख भएको छ । चालु आर्थिक वर्षमा १६ करोड रुपियाँ बजेट सुनिश्चित भएसँगै धुलो, हिलो र कष्टकर यात्राबाट मुक्ति पाउने आशाले क्षेत्रवासी उत्साहित बनेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको विशेष पहल तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, वडा ८ का अध्यक्ष युवराज गुरुङ र जिल्लाका राजनीतिक नेतृत्वबिचको निरन्तर समन्वयपछि यो बहुप्रतीक्षित आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । आयोजना अन्तर्गत अमले जौबारी, बर्लाची, सोतीबेँसी, रिस्ती फेदी, बाहुनपोखरा, गाडापानी, पुलिमराङ र लप्री हुँदै बिलाउनीसम्मको सडकलाई चरणबद्ध रूपमा स्तरोन्नति गर्दै कालोपत्रे गरिने छ ।
वडाध्यक्ष गुरुङका अनुसार पहिलो चरणमा ४ करोड रुपियाँको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ । यस चरणमा बाहुन पोखरासम्मको सडक यसै आर्थिक वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बाँकी १२ करोड रुपियाँको बजेटबाट दोस्रो चरण अन्तर्गत गाडापानीदेखि बिलाउनीसम्मको सडक निर्माणका लागि टेन्डर आह्वान भइसकेको र आगामी आर्थिक वर्षमा काम सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।
स्थानीयवासीका लागि शहीद कालिका मोटरमार्ग यातायातको साधन मात्र नभई शिक्षा, स्वास्थ्य सेवा, व्यापारिक गतिविधि र आपतकालीन सेवासँग प्रत्यक्ष रूपमा जोडिएको जीवनरेखाको रूपमा रहेको छ । विशेषगरी वर्षायाममा एम्बुलेन्ससमेत चल्न नसक्ने अवस्था भोग्दै आएका बासिन्दाले सडक कालोपत्रेपछि सेवा–सुविधामा सहज पहुँच हुने विश्वास जागेको स्थानीय काजी परियार बताउनुहुन्छ ।