हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २२ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमा मात्रै दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताउनुभएको छ ।
अत्याधिक चिसोका कारण हिमाली जिल्लामा दोस्राे चरणमा निर्वाचन गर्ने चर्चाबिच अर्थमन्त्री खनालले देशभर एकसाथ निर्वाचन गर्ने बाहेक सरकारले अर्को योजना नबनाएको बताउनुभयो । धौलागिरिको पर्वत, बागलुङ र म्याग्दी जिल्लामा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थापनका बारेमा जानकारी लिने क्रममा अर्थमन्त्री खनालले मुस्ताङसहितका हिमाली जिल्लामा भारी हिमपात भएकै कारण मतदान स्थलमा असर गरेमा तत्काल निर्णय गरिने बताउनुभयो ।
अर्थमन्त्री खनालले भन्नुभयो,‘‘अहिले हिमपात भइरहेका ठाउँमा फागुन महिनामा मौसम सफा हुन्छ, हामीले एकैपटक निर्वाचन सम्पन्न गरी आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्छौं ।’’ अर्थमन्त्री खनालले सञ्चारमाध्यममा आएजस्तो हिमाली जिल्लाको निर्वाचन सार्ने विषयमा सामान्य कुराकानी समेत नभएको अवस्थामा तराई, पहाड र हिमाली जिल्लामा तोकिएको समयमै मतपत्रसहित निर्वाचनलाई आवश्यक पर्ने सामग्री पुग्ने बताउनुभयो ।
मौसम प्रतिकुल, वर्षा बाहेक अचानक हिमपात भएको अवस्थामा तत्कालिन परिस्थितीलाई नै हेरेर निर्णय गरिने भएकाले निर्वाचनको तयारीमा जुट्न अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, निर्वाचन कार्यालयलाई निर्देशनसमेत दिनुभयो । शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य जिम्मेवारी भएको बताउँदै अर्थमन्त्री खनालले निर्वाचनको तयारी र सम्पन्नसम्मका लागि सरकार दिनरात खटिएको बताउनुभयो ।
निर्वाचन तयारी, सम्पन्नका लागि आवश्यक पर्ने थप बजेट निकासाका लागि समेत सरकार तयार रहेको अर्थमन्त्री खनालको भनाइ छ । धौलागिरिको पर्वत, बागलुङ र म्याग्दीको तुलनामा निर्वाचनमा चुनौती मुस्ताङ जिल्लामा रहेको छ। मुस्ताङको उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा ३५ सय ५३ मतदाता रहेका छन् भने थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा ७ हजार ७ सय ७५ मतदाता रहेका छन् ।
मतदानको समयमा हिमपात भएमा लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिका केही मतदान स्थल प्रत्यक्ष असर तथा सम्रग जिल्ला प्रभावित हुनसक्छ। एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।