ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीका उम्मेदवारहरुले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न थालेका छन् ।
निर्वाचन आयोगको निर्देशनअनुसार प्रचारप्रसारका क्रममा हुने आम्दानी र खर्चलाई बैंकिङ प्रणालीमार्फत सञ्चालन गरी पारदर्शिता सुनिश्चित गर्न बैंक खाता खोल्न सिफारिस गरिएको हो ।
उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि सङ्कलन हुने रकम र खर्च पारदर्शिताका लागि बैंक खाता खोल्न जिल्लाका सबै उम्मेदवाहरुलाई कार्यालयका तर्फबाट सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताउनुभयो ।
‘‘उम्मेदवारी दर्ता गराई अन्तिम नामावलीमा समावेश भएका सबै उम्मेदवारहरुलाई हामीले बैंक खाता खोल्नका लागि पत्रसहित सिफारिस गरेका छौं । बैंक खाता खोलेर केहीले जानकारी समेत गराइसक्नुभएको छ,’’ निर्वाचन अधिकारी गौतमले भन्नुभयो । अन्य उम्मेदवारहरुले पनि चाँढै खाता खोलेर जानकारी गराउनुहुने अपेक्षा कार्यालयले गरेको उहाँको भनाइ छ ।
निर्वाचन आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।
उम्मेदवारहरुले बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्नुपर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख एवम् जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रामनाथ शर्माले बताउनुभयो । अहिले सम्म चारजना उम्मेदवारले बैंक खाता खोलेर जानकारी समेत गराउनुभएको उहाँले बताउनुभयो ।
राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचनको सिलसिलामा गरिने प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्न आयोगको निर्देशनलाई जिल्लामा कार्यान्वयनमा लगिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताउनुभयो ।
राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिइ गर्ने आम्दानी र खर्च कारोबार बैंक खातामार्फत नै गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । यस्तो खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुनेगरी तोकिएको पनि आयोगले जनाएको छ । निर्वाचन प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणाली मार्फत गर्दा पारदर्शीता हुने विश्वास गरिएको छ ।