हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २२ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन, कोरला नाका र पूर्वाधार विकासको क्षेत्रमा अझै काम गर्ने चाहना रहेको बताउनुभएको छ । काठमाडौँमा रहेका मुस्ताङका मतदाता लक्षित नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले उम्मेदवार गुरुङलाई जिताएर पठाए केन्द्रबाट गर्नुपर्ने सबै कामको जिम्मेवारी लिने प्रतिबद्धता जनाउनुभयो ।
जलवायु परिवर्तनले मुस्ताङले नगरेको गल्तीको सजाय भोग्नुपरेकोमा आफु प्रधानमन्त्री हुँदा विभिन्न अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा जलवायु परिवर्तनबाट नेपालले भोगेको पीडाका बारेमा प्रष्ट भन्दै क्षर्तीपूर्ति वापत कोषमार्फत बर्षेनी सहयोगका लागि प्रयास गरेको, कोरला नाका सञ्चालन तथा पूर्वाधार विस्तारमा समेत मित्र राष्ट्र« चिनसँग गरेको प्रयास अहिले देखिएको बताउनुभयो ।
मुस्ताङको जलवायु परिवर्तनको असरलाई नै देखाएर नेपाललाई अन्तर्राष्ट्रिय कोषबाट वार्षिक ५० करोड क्षर्तिपूर्ती दिने प्रक्रिया अगाडी बढेको अवस्थामा उक्त रकमलाई मुस्ताङ जिल्लामा दिने प्रयास भए पनि रोकिएकाले अब नयाँ सरकारको नेतृत्व गर्न समेत आफ्नो उम्मेदावरलाई जिताउन मतदातालाई अनुरोध गर्नुभयो । संयोजक दाहालले मुस्ताङको भूगोल र यहाँको आवश्यकता आफूले नजिकबाट बुझेको भन्दै मतदातालाई आश्वस्त पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘तपाईंहरूले ङुटुङलाई जिताएर पठाउनुहोस, माथि हेडक्वार्टरबाट गर्नुपर्ने कामको जिम्मा मेरो रहनेछ ।’’
आफू चीन भ्रमणमा रहँदा र प्रधानमन्त्रीको हैसियतमा काम गर्दा कोरला नाका सञ्चालनबारे चिनियाँ नेतृत्वसँग गम्भीर समझदारी गरेको दाबी समेत संयोजक दाहालको थियो । मुस्ताङको राजनीतिमा सधैँ तल्लो भेग र थकाली समुदायको वर्चस्व रहने गरेको भन्दै यसपटक माथिल्लो भेग (भोटे÷गुरुङ समुदाय) लाई अवसर दिइएको बताउनुभयो । सधैँ एउटै भेगबाट मात्र प्रतिनिधित्व हुने परम्परा तोड्दै हामीले माथिल्लो भेगका जनताको प्रतिनिधिलाई अघि सारेको दाहालको भनाइ थियो । मुस्ताङको धार्मिक, सडक सञ्जाल विस्तार, अलपत्र परेका पुलहरूको निर्माण, कृषिको आधुनिकीकरण र मुस्ताङी स्याउको बजारीकरणमा आफ्नो विशेष ध्यान दिन मुस्ताङका मतदाताले अनुरोध गरेका थिए ।
मुस्ताङ युरेनियम जस्तो बहुमूल्य खनिजको सम्भावना बोकेको जिल्ला भएकाले यसको सुरक्षा र विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अत्याधिक चिसोका कारण पोखरा, काठमाडौँ लगायतका क्षेत्रमा छरिएका मतदातालाई खोजेर घरदैलो अभियानमा जुटेका उम्मेदवार गुरुङले पूर्वाधारको जगमा टेकेर कृषि, पशुपालन, पर्यटन र व्यापार व्यवसाय मार्फत मुस्ताङलाई थप विकसित र सम्बृद्ध बनाउन सकिने बताउनुभएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा मुस्ताङमा भन्दा उम्मेदवारलाई जिल्ला बाहिर रहेका मतदातालाई एजेण्डा सुनाउन भ्याइनभ्याई छ ।