• २२ माघ २०८२, बिहिबार

फौजी बनाइएका किरा

blog

खतरनाक किरा प्रकृतिमा फैलिएको भए क्यालिफोर्नियाका फलमा लगाइने क्वारेन्टाइनका कारण अमेरिकाको महत्वपूर्ण कृषि क्षेत्रमा बालीनाली नष्ट भई हजारौँ मानिस बेरोजगार र अर्बौं डलर नोक्सानी हुने थियो ।

हजारौँ वर्षदेखि शत्रुलाई कष्ट दिन छखुट्टे फौजीलाई सैन्य सेवामा भर्ती गरिँदै आएको छ । 

मौरीको चाकामा गुलेली हान्ने । बिच्छीको बम । किरा राखिएको खाल्डो जेल । हजारौँ वर्षदेखि सैन्य रणनीतिकारहरू किरालाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहे । शत्रुलाई असह्य पीडाले कमजोर पार्न मात्र होइन रोगाणु फैलाउन र कृषिबाली नष्ट गर्नसमेत किराको प्रयाग गरियो । यसबाट व्यापकस्तरमा कष्टपीडा, रोगव्याधि र भोकमरी फैलाउने उद्देश्य राखिन्थ्यो । 

किराद्वारा रोग फैलाउने कार्य धेरै नै प्रभावकारी रह्यो । द्वितीय विश्वयुद्ध ताका जापानी जैविक हतियार दस्ताले चिनियाँ सहरमा प्लेगले सङक्रमित उपियाँ र हैजाका कीटाणु बोकेका झिँगा फैलाउँदा करिब चार लाख ४० हजार मानिसले ज्यान गुमाएका थिए । जापानी सेनाले सन् १९४५ मा अमेरिकाको सान डियागोमा समेत प्लेग सङ्क्रमित उपियाँ 

फैलाउने योजना बनाएको थियो तर त्यसमा काम अगाडि बढाएन ।  

सन १९८९ मा अमेरिकाका आन्तरिक जैवआतङ्कवादीले अधिकारीहरूलाई भने, “हामीले मेडफ्लाई (एक खालको झिँगा) पालनपोषण गरेका छौँ र क्यालिफोर्नियामा तिनलाई छाड्ने छौँ, यो कार्य त्यतिबेलासम्म जारी रहने छ जबसम्म सरकारले कीटनाशक छर्किन बन्द गर्दैन । यो खतरनाक किरा प्रकृतिमा फैलिएको भए क्यालिफोर्नियाका फलमा लगाइने क्वारेन्टाइनका कारण अमेरिकाको महìवपूर्ण कृषि क्षेत्रमा बालीनाली नष्ट भई हजारौँ मानिस बेरोजगार र अर्बौं डलर नोक्सानी हुने थियो ।” 

तर शत्रुलाई कष्ट दिन र लखेट्न छ खुट्टे फौजीलाई हजारौँ वर्षदेखि धेरै नै प्रयोग गरिँदै आएको छ । पुराना केही घटनालाई उदाहरणका रूपमा लिन सक्छौँ । भियतनाम युद्ध र त्यसअघिका दिनमा किरालाई प्रभावकारी रूपमा हतियार बनाइएको छ । केही उदाहरण यस प्रकार छन् :

बिच्छीको हमला

इस्वीको दोस्रो शताब्दीको अन्त्यतिर रोमन सम्राट सेप्टिमियस सेभरस स्थानीय राजाबाट मेसोमोटामियाको शासनसत्ता हत्याउन गइरहेका थिए । प्राचीन इतिहासकार हेरोडिनले उल्लेख गरे अनुसार त्यसअघि नै बिच्छीको ‘वर्षा’ ले उनको बाटो छेक्दा योजनामा तुषारापात भयो । 

सिल्क रोडमा काफिलाको यात्राका लागि आफ्नो नियन्त्रण आवश्यक देखेर जसै रोमन फौज हत्राको मरुभूमि  गढीतिर बढ्यो राजा बर्सामिया र उनका जनता ४० फिट अग्लो पर्खालको पछाडि लुकेर बसे । गढीको रक्षाका लागि उनीहरूले माटोका भाँडामा बिच्छी भरेर एक खालको बम बनाए । त्यस क्षेत्रमा ती बम धेरै आम र खतरनाक थिए । पर्सियाली राजाहरूले बिच्छी खोज्न मानिस खटाइरहन्थे र सिल्क रोडमा काफिलाको सुरक्षित यात्रा सुनिश्चित गरेकोमा इनामसमेत दिने गर्दथे । स्थानीयलाई पहिलेदेखि नै थाहा थियो बिच्छीले डस्दा असह्य पीडा हुन्छ र त्यसको विषले श्वासप्रश्वास नै अनियमित पारिदिन्छ, नाडी सुस्त पार्छ, मुर्छा बनाउँछ र मृत्युसमेत हुने सम्भावना रहन्छ । 

रोमन सम्राट सेभरसको फौज जसै हत्राको पर्खालमा पुग्छ बिच्छी बम उनीहरूमाथि बर्सन थाल्छ । रोमन सैनिकको शरीरमा जहाँ जहाँ खुला भाग छ छाला, खुट्टा, पाखुरा तथा अझ अनुहार र आँखा बिच्छीको डसाइले नराम्रोसँग प्रभावित भए । सैनिकहरू त्राहिमाम हुन थाले । हत्रानीको सुरक्षामा बिच्छी तैनाथ भएका कारण सेभरस २० दिनसम्म त्यहाँ फसे । सेभरसलाई त्यतिबेला राहत मिल्यो जब उनका सैनिकले लड्न छाडेर फर्कनु नै वेश ठाने । 

अपरेसन फ्लिङ एन्ड स्टिङ

शत्रुको सैन्य शक्तिलाई कष्ट दिने प्रयासमा किराले भरिएका हतियार प्रक्षेपण गर्न सकिने उपकरणको विकासबाट ठूलो सहयोग पुग्यो । जसरी गुलेलीले सामान्य चट्टानमा हान्छ त्यसरी नै मौरीको घारमा हान्छ । एवं प्रकारले कीटविज्ञान शक्तिको सन्तुलन आक्रामक फौजको पक्षमा हुन गयो । 

युरोपेली इतिहास मौरीका घार र बारुलाका छत्तालाई शस्त्रका रूपमा प्रयोग गरिएको वर्णनले भरिएको छ । खुला समुद्रमा शत्रुको जहाजको डेक खाली गराउन यस्ता उपाय निकै प्रभावकारी हुन्थे । १४ औँ शताब्दीमा घार, छत्ता आदिलाई सजिलै प्रयोग गर्न सकिने गरी ‘गेटलिन गन’ जस्ता उपकरण परिष्कृत गर्ने काम भयो ।  ‘गेटलिन गन’ एक यस्तो उपकरण थियो जसमा पवनचक्की जस्तो उपकरणलाई घुमाएर परालका सिन्का फ्याँक्न सकिन्थ्यो ।     

तर आक्रामक फौजले मात्रै डस्ने वा चिल्ने किराहरू प्रयोग गर्दैनथे । युरोपेली सम्भ्रान्तहरूले समेत आफूले पालेका मौरी मह उत्पादन मात्र गर्ने होइन परिस्थिति अनुसार विनाश मच्चाउन तयार रहने सुनिश्चित गर्दथे । मध्यकालको किल्लाका भित्री भित्तामा पनि मौरीको बास होस् भनेर कोप्चाकोप्ची बनाइन्थे । शत्रुको आक्रमणका बेला ती मौरीले हमला गरेर उनीहरूलाई लखेट्ने काम गर्न सक्थे । 

वर्तमानको उज्बेकिस्तानलाई इस्वीको १९ औँ शताब्दीमा बुखारा भनिन्थ्यो । त्यतिबेला बुखाराका राजा नसरुल्लाह बहादुर–खान आफ्ना क्रुर कारबाहीका लागि जानिन्थे । स्थानीयद्वारा भनिने कालो कुवाका लागि सम्भवतः इतिहासले उनलाई सम्झने गरेको छ । पश्चिमा इतिहासवेत्ताहरूका अनुसार कालो कुवा २१ फिट गहिरो थियो । त्यसको मुख फलामे जालीले ढाकिएको थियो र डोरीको सहाराले मात्र कुवाभित्र जान सकिन्थ्यो । राजा नसरुल्लाहले पीडितलाई निरन्तर असह्य पीडा दिन कुवामा किरा हाल्ने गर्थे । 

राजाका छखुट्टे दस्तामा सबैभन्दा घातक थिए खुनी किरा,  तथापि तिनका आठखुट्टे भाइ भेडामा लाग्ने सुलसुलेले झनै दुःख दिन्थे । एक इन्च लामा मांसाहारी खुनी किरामा आफ्नो सिकारलाई भेद्न अधिकांश अन्य किरा जस्तै वक्राकार मोटो चुच्चो हुन्छ तर यी किराले भोकै बस्नु भन्दा मानिसलाई नै खान थाल्छन् । यी किराको टोकाइलाई तातो सियोले घोच्नुसँग दाँजिन्छ । साथै सिकारको तन्तुलाई गलाउन तिनले ओकल्ने पाचक रसले मानव शरीरमा सड्ने खालको घाउ बनाउँछ । 

दुई बेलायती कैदीलाई कसरी किराले सुस्तरी सुस्तरी जिउँदै खाएका थिए भनी राजा नसरुल्लाहका जेलरले बयान गरेको कुरा इतिहासमा उल्लेख छ । ती कैदीका हड्डीबाट मासुको ठूलो भाग किराले कोतरेर खाएका थिए । ती बेलायती कैदीको मामिलामा नसरुल्लाहले दया गरेर (उनका शब्दमा) दुवैको टाउको छिनाल्न लगाई उनीहरूको पीडा कम गरेको कुरा इतिहासमा उल्लेख छ ।  

बगी बुबी ट्रेप्स

किरालाई प्रयोग गरी पीडा दिने कामले हालैका समयसम्म निरन्तरता पाएको थियो । भियतनाम युद्धका बेलामा दक्षिण भियतनामका वामपन्थी छापामार भियत काङले कहिले र कहाँ लड्ने भनी आफ्ना लागि बनाएका भूमिगत सुरुङमा बारुला र अरिङ्गालका छत्ता राख्ने गर्थे । कहिलेकाहीँ त उनीहरूले आक्रमण गर्नुपहिले अमेरिकी अखडामा बारुला र अरिङ्गाल उडाएर शत्रुलाई छिन्नभिन्न पर्दथे । 

शत्रुसँग लड्नका लागि गुप्त रूपमा पठाइएका अमेरिकी कमान्डोप्रति अफसोस जताउनु मात्र सकियो किनभने उनीहरू लड्नु त कता हो कता थापिएका खतरनाक पासोमा पर्न गए । त्यतिबेला ‘टनेल ¥याट’ कहलिएका अमेरिकी विशेष सैनिकलाई जङ्गल, सुरुङका ओसिला मार्गमा भियत काङद्वारा राखिएका बारुदी सुरुङ खोज्ने र नष्ट गर्ने जिम्मेवारी थियो । ‘टनेल ¥याट’ ले अगाडि बढ्दै गर्दा पासो भएको चाल नपाउँदा गुफाको छानामा गोप्य रूपमा लुकाइएका बिच्छीको वर्षा उसमाथि हुन्थ्यो ।  

भियत काङले ‘एसियन जाइन्ट हनि बी’ लाई समेत पालेर राखेको थियो । यसलाई उष्णदेशीय किट वैज्ञानिकहरूले पृथ्वीमा खतरनाक चिल्ने किरा भन्ने गरेका छन् । भियत काङका लडाकुले यी मौरीका घार चुपचाप अमेरिकी सैनिकले हिँड्ने मार्गमा नदेखिने गरी राखेर त्यसमा सानो विस्फोटक जडान गरिदिन्थे । जब शत्रुको गस्ती दल त्यहाँ आइपुग्थ्यो प्रतीक्षारत भियत काङ लडाकुले घारमा विस्फोट गराउँथे । घारमा विस्फोटले क्रोधित मौरी अमेरिकीमाथि नराम्रोसँग जाइलाग्थे । अनि मौरीको आक्रमणले तितरबितर भएका शत्रु भियत काङका लडाकुको निसानामा पर्दथे । 

अमेरिकी सेनाले पनि यस समस्याको तोड निकाल्ने प्रयासमा यस्तो उपकरण आविष्कार गर्न अनुसन्धानका लगानी सुरु ग¥यो जसद्वारा मौरीको ‘अलार्म फेरोमोन’ रसायन भियत काङका लडाकुमाथि मज्जाले छर्कन सकियोस् । स्थानीय मौरीलाई आफ्नो हितैषी र भियत काङको शत्रु बनाउने जुक्तिमा अमेरिका लागेको थियो । ‘अलार्म फेरोमोन’ ले घोडसवार सेनाको बिगुलसरह काम गर्दछ र मौरीलाई आक्रमण गर्न सन्देश दिन्छ । मौरी, कमिला आदि किराले यही रसायनद्वारा खतरा आएको र आक्रमण गर्नुपर्ने सङ्केत पाउँछन् तर अमेरिकाले यस हतियारलाई कहिल्यै प्रयोग गरेन । याद रहोस् यी किराले त्यही काम गर्छन् जेका लागि ती विकसित भएका हुन्– चिल्ने, डस्ने र पीडा दिने । आफूलाई सङ्कटमा पार्ने कि नपार्ने भनी निर्णय लिने जिम्मा मानिसको हो । तथापि हामी सुरुदेखि नै यी छखुट्टे जीवलाई आफ्ना क्रुर कर्मका लागि पालनपोषण गर्दै आएका छौँ । 

उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादित   

–युवामञ्च